सुचना, समाचार र मनोरन्जन

दुर्घटना न्यूनीकरणका लागि निःशुल्क खाजासहितको विश्रामस्थल

 

मन्थली : दशैँमा यात्रुको चाप बढ्न गइ हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि रामेछापको खाँडादेवी गाउँपालिका- ३ भिरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ ।

सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका- ६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन् ।

यही असोज ११ र १२ गतेको अविरलपछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरीकोट हुँदै लामोदूरीका सवारीसाधन सञ्चालन भइरहेका छन् ।

 

त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष नारायण कार्कीले जानकारी दिए ।

 

उनले भने,’लामोदूरी पार गरेर आएका सवारीसाधनमा प्राविधिक समस्याका कारण दुर्घटना हुने जोखिम छ । घटस्थापनापछि मात्रै यहाँ दुई/तीन वटा दुर्घटना भइसकेका छन् तर पनि चालकले गाडी रोक्न नमान्ने अवस्था थियो । निःशुल्क पानी र खाजाको व्यवस्थापछि भने चालकले यातायातका साधन रोक्ने गरेका छन् । अभियान प्रभावकारी भएको छ ‘

 

उनका अनुसार यो अभियान दशैँ मनाउन घर जान हिँडेका यात्रुलाई लक्षितगरी यही असोज २४ र २५ गते सञ्चालन गरिएको थियो । फेरि दशैँ मनाएर फर्किनेका लागि अभियान सञ्चालन गर्ने योजना छ ।

 

उक्त स्थानमा खाजाका लागि बिस्कुट, चाउचाउलगायत खानेकुरा र पानी तथा चिसो पेयपदार्थ निःशुल्क रूपमा वितरणको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रदीपकुमार सिंहले बताए ।

 

काठमाडौंबाट नेपालथोक हुँदै खुर्कोट र खैरेनी घाटको पुल तरेर जिल्लाका विभिन्न स्थानमा आवतजावत गर्ने सवारीसाधन बाढीले दुवै स्थानका पुल बगाएपछि मुडे, चरीकोट, मन्थली हुँदै सञ्चालन हुने गरेका छन् ।

 

भिरपानीको सित्खादेखि पकरवासको गोगनपानी डाँडासम्म उकालो र गोगनपानीदेखि भिरपानीको चरिखोलासम्म ओरालो बाटो भएकाले यहाँ दुर्घटनाको जोखिम रहेको छ । उक्त अभियान सञ्चालन गरिएपछि यात्री मात्र नभई चालक तथा सहचालकसमेत खुसी भएका स्थानीय राजेशकुमार श्रेष्ठले बताए ।

Leave A Reply

Your email address will not be published.