सुचना, समाचार र मनोरन्जन
Sarangi

गुल्मीको रेसुङ्गामा पहिलो पटक ‘गो’ महोत्सव हुँदै

गुल्मी/

रेसुङ्गामा पहिलो पटक ‘गो’ महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञ सञ्चालन गरिने भएको छ ।

जिल्लाको धार्मिक ऐतिहासिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा क्षेत्रमा रहेको गौशालामा ‘गो महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञ’ सञ्चालन गरिने भएको हो ।

रेसुङ्गा संरक्षण समितिको आयोजनामा कात्तिक ८ गतेदेखि १६ गते गाई तिहारका दिनसम्म सञ्चालन हुने ‘गो’ महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञ सञ्चालन हुने रेसुङ्गा संरक्षण समितिका सह–सचिव यज्ञप्रसाद पन्थीले बताए ।

हिन्दु धार्मिक परम्परा अनुसार गाईको महत्व थप टेवा पुर्याउने उदेश्यले ‘गो’ महोत्सव आयोजना गरिएको पन्थीले बताए ।

महोत्सव सफल बनाउनको लागि रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालको संयोजकत्वमा १ हजार एक सय ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । १३ वटा उपसमितिहरु गठन गरेर तयारीलाई तीव्र पारिएको छ ।

महोत्सवमा संकलित हुने रकमबाट गाईहरुको दीर्घकालीन संरक्षण र सम्वद्र्धनका लागि अक्षय कोष स्थापना गर्ने आयोजकले जनाएको छ ।

२०४२ सालदेखि व्यवस्थित रुपमा रेसुङ्गा गोशाला चौतारामा स्थानीय जातका गाईहरु संरक्षण गरिंदै आएको छ । अहिले १५० भन्दा बढी स्थानीय जातका गाईहरु संरक्षित रहेका छन् ।

गाईको दूध, गहुँत, गोबरसमेत हिन्दू परम्परा अनुसार पवित्र मानेर पुज्ने गरिन्छ । गाईको सेवा तथा गाईदान गर्नाले मृत्युपछि वैतरणी तरिन्छ भन्ने धार्मिक विश्वास छ ।

गाईहरुको संरक्षणका लागि रेसुंगा संरक्षण समितिले विगत पाँच वर्षदेखि मुष्ठिदान अभियान समेत सञ्चालन गर्दै आएको छ । रेसुङ्गामा स्थानियले पितृहरुको मनोकांक्ष पूरा गर्न भन्दै गाईदान गरेर छोडने प्रचल पनि रहेको छ ।

गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ । वनमा चर्ने गाईको गहुतबाट विभिन्न रोगहरुको निम्ति औषधि हुने मान्यता छ ।

Leave A Reply

Your email address will not be published.