सुचना, समाचार र मनोरन्जन
Sarangi

रवि लामिछाने कास्की प्रहरीको हिरासतमा

काठमाण्डाै/

सहकारी ठगीको अनुसन्धानका लागि काठमाण्डौमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ ।

लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले हिजो बेलुका काठमाण्डौमा पक्राउ गरी राति नै स्थलमार्गबाट पोखरा लगेको हो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको हो । लामिछानेलाई स्थलमार्ग हुँदै पोखरा पुर्‍याउँदा रास्वपाका नेता तथा कार्यकर्ताले सडकमार्गका ठाउँठाउँमा र जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरसमासमेत नाराबाजी गरेका थिए ।

रास्वपा सभापति लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत मिडियामा लगेर अपचलन गरेको आरोप लागेको छ । उहाँलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिश गरेको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई हिजो अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर प्रहरीले पोखरा लगेको हो । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम लगेर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । लामिछानेले आफू सहकारी प्रकरणमा निर्दोष रहेको दाबी गर्दै आउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.