सुचना, समाचार र मनोरन्जन

सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी

 

स्याङ्जा : यहाँका एक किसानले दशैं तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट पाँच लाख रूपैयाँ आम्दानी गरेका छन्।

स्याङ्जाको चापाकोट नगरपालिका-१ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट पाँच लाख रूपैयाँ आम्दानी गर्न सफल भएका हुन्।

उनले दशैं तथा तिहारका अवधिमा माला एकहजार आठ सय ४५ गोटा र फूल एक हजार तीनसय ७६ केजी बिक्री गरेका हुन्। फूल बिक्रीबाट तीन लाख ४४ हजार र माला बिक्रीबाट एक लाख ४७ हजार ६ सय गरी कुल चार लाख ९१ हजार ६ सय आम्दानी गरेको उनले बताए।

 

भण्डारीले फूलका थुंगा प्रतिकेजी दुईसय ५० रूपैयाँदेखि तीनसय र माला प्रतिगोटा एकसय ५० रूपैयाँसम्म बिक्री गरेका हुन्।

 

यहाँ उत्पादन भएको फूल तथा माला भैरहवा, नारायणगढ, बर्दघाटलगायतका बजार तथा स्थानीयस्तरमा पनि खपत भएको उनले बताए। ‘माग भएअनुसार माला तथा फूल उपलब्ध गराउन सकेनौँ’ उनले भने, ‘सयपत्रीको व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहज भयो, बजार राम्रो पायौँ।’

 

बोटमा फूल फुल्ने क्रम जारी रहेको र मङ्सिरको महिनाभर उत्पादन लिन सकिने उनले बताए। यहाँ उत्पादन भएको फूलको माग भैरहवाबाट आएकाले केही दिनमै पठाउने तयारी भएको व्यवसायी भण्डारीका छोरा रामचन्द्र भण्डारीले बताए।

 

पेसाले कृषि प्राविधिक अध्ययन गरेका रामचन्द्रले फूलमा प्राविधिक पक्ष र बजारीकरणमा बुवालाई सघाउँदै आएका छन्।

 

‘फूलका बोटबाट अझै उत्पादन लिन सकिन्छ’, रामचन्द्रले भने, ‘अब उत्पादन हुनेमध्येको केही फूलको माग भइआएको र केही स्थानीयस्तरमा हुने विवाह, व्रतबन्ध, पूजाआजालगायतका धार्मिक तथा मेला महोत्सवहरुमा खपत हुनेछ।’

Leave A Reply

Your email address will not be published.