काठमाडौं : नवलपुरमा स्थापित राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार हेल्थ टुडे पत्रिकाका सम्पादक बैतडीका पदमराज जोशीलाई प्रदान गरिएको छ।
कावासोती नगरपालिकामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले सो पुरस्कार प्रदान गरेका हुन्। गण्डकी प्रदेशसभा सदस्य गाहाले खानपानकै कारण क्यान्सरलगायतका नसर्ने रोगको जोखिम बढ्ने भएकाले सर्वसाधारणलाई सचेत गराउन आवश्यक रहेको बताए।
उनले स्वर्गीय राधाले सुरुवात गरेको अभियानले समाजमा ऊर्जा थपको बताए।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका कोषाध्यक्ष भविश्वर पाण्डे , पत्रकार महासङ्घका जिल्ला अध्यक्ष श्रीराम सिग्देल लगायतले स्वर्गीय राधा बस्यालले लामो समयसम्म पत्रकारितामा पुर्याएको योगदानको चर्चा गर्दै क्यान्सर जस्तो भयावह रोगबाट बच्न जनस्तरमा जनचेतना फैलाउन आवश्यक रहेको बताए ।
आफू रोगसँग लडिरहेको अवस्थामा पनि समाजप्रति गरेको राधाको योगदानलाई भुल्न नहुनेमा जोड दिए। विसं २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो। बस्यालको निधनपछि फाउन्डेसनलाई उनका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिएका छन्।