तनहुँ/
नेपालीको दोस्रो महान पर्व तिहारमा अत्यधिक मात्रामा सयपत्री र मखमली फूलको प्रयोग हुन्छ । तिहारको मुख्य दिन भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपश्चात माला लगाइदिने प्रचलन छ । गाई, गोरु र कुकुर तिहारको अवसरमा पशुलाई समेत फूलको माला लगाएर पूजा गरिने हुँदा तिहारमा सयपत्री र मखमली फूलको अत्यधिक प्रयोग हुने गर्दछ ।
विगतका वर्षमा भारतीय सयपत्रीको माला नेपाली बजारमा प्रशस्त पाइने गरे पनि यस वर्ष नेपाल सरकारले भारतीय माला आयातमा प्रतिबन्ध लगाएपछि नेपाली फूलले राम्रो बजार मूल्य पाउन सक्ने देखिएको छ । सयपत्री फूलमा आत्मनिर्भर हुन यहाँका स्थानीय सरकारले किसानलाई अनुदान प्रदान गरी प्रोत्साहन गरेका छन् । जिल्लाका दश पालिकामध्ये आँबुखैरेनी, बन्दीपुर म्याग्दे गरी तीन पालिकाले आफ्नो पालिकाभित्र फूल उत्पादनका साथै प्रवद्र्धनमा सहयोग गर्दै आएका छन् ।
छोटो अवधि र थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय किसान पनि फूल खेतीतर्फ आकर्षित हुँदै गएका छन् । विभिन्न स्थानीय तहमा पनि युवाले सामूहिक रुपमा वा एकल रुपमा सयपत्रीको खेती गरेका छन् । युवाले गरेको सयपत्री फूलको खेतीलाई स्थानीय तहले प्रवद्र्धन गर्न सुरु गरेको छ ।
जिल्लाको आँबुखैरेनी गाउँपालिकामा करिब २६ रोपनी क्षेत्रफलमा गरेको फूलखेतीबाट उत्पादन लिन सुरु गरेको गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले जानकारी दिए ।
आँबुखैरेनी-१ स्थित याञ्चोक आमा समूह, आँधीमूल आमा समूह र मित्रता मावि परिसमा व्यवसायिक फूलखेती गरिएको हो । व्यावसायिक र आयमूलकका साथै सयपत्रीमा पालिका क्षेत्रलाई ‘हब’ बनाउने योजना रहेको उनले बताए ।
याञ्चोकमा ३५ र आँधीमूल आमा समूहका १५ जना जनशक्ति दैनिक खट्दै आएका छन् । उक्त जनशक्तिले फूल टिप्ने र माला बनाउने कार्यमा तल्लिन हुँदै आएका छन् ।असोज १५ गतेदेखि फूल टिपेर माला बनाई बिक्री समेत गर्न थालिएको छ । तयार गरिएका एक हजार थान मालामध्ये ५० प्रतिशत बिक्री भैसकेको बताइएको छ ।
महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्न सय प्रतिशत अनुदानमा फूलका बिरुवा वितरणदेखि प्राविधिक सहयोग गरेको गाउँपालिका कार्यालयले जनाएको छ । गोरखा, दमौली र काठमाडौँलगायत सहरबाट तिहारको लागि आठ हजार मालाको माग भइसकेको र माग आउने क्रम पनि जारी रहेको उनले बताए ।
‘मुख्य याममा गुणस्तर हेरी प्रतिमाला रु ४० देखि रु ७० सम्म बिक्री गर्ने योजना रहेको छ’, उनले भने, ‘अफसिजनमा प्रतिमाला खुद्रा रु एक सयदेखि एक सय २० सम्म बिक्री गर्ने लक्ष्य राखिएको छ । पहिलो वर्षको अनुभव रहेकाले प्राविधिक व्यवस्थापन गरिरहेका छौँ’, उनले भने, ‘आउँदो वर्ष समयमै सुधार गर्ने गरी अहिले पूर्ण रुपमा फक्रिएका फूल टिपेर माला बनाई चिस्यान केन्द्रमा राख्न थालिएको छ ।’
सोही वडास्थित मिलीजुली कृषि उत्पादक सहकारी संस्था लिमिटेडको चिस्यान केन्द्र बिग्रिएकाले गाउँपालिकाले मर्मतसम्भार गरी प्रयोगमा ल्याइएको हो । गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री प्रवद्र्धधन कार्यक्रमलाई अघि बढाइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उत्पादनलाई आयआर्जनमा जोडेर स्थानीयवासीको आर्थिकस्तर उकास्ने लक्ष्य गाउँपालिका कार्यालयले लिएको उनी बताउँछन् ।
दुईवटा आमा समूहलाई पहिलो वर्षमा रु ९० हजार अनुदान प्रदान गरे पनि आगामी वर्षदेखि गाउँपालिकाले प्राविधिक सहयोग मात्रै गर्ने योजना रहेको छ ।आमा समूहले पहिलो वर्षमा फूलखेतीबाट गरेको आम्दानीलाई बर्सेनि सयपत्री फूल व्यवसायलाई निरन्तरता दिनुपर्ने प्रावधान रहेको छ ।
मित्रता माविको हकमा भने ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत एकमुष्ट रु तीन लाख अनुदान प्रदान गरी आयआर्जनबाट विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने लक्ष्य गाउँपालिका कार्यालयको रहेको छ । त्यसैगरी जिल्लाको बन्दीपुर गाउँपालिका–५ थुम्का,कल्चोक लगायतका स्थानमा चालिस रोपनी जमिनमा फूल खेती गरिएको छ । विगत केही वर्षदेखि यहाँका स्थानीय किसानले व्यावसायिक रुपमा फूल खेती गर्दै आएका हुन् ।
फूलमा आत्मनिर्भर हुँदै आर्थिक क्षेत्रमा समेत सक्षम हुन व्यावसायिक फूल खेतीलाई निरन्तरता दिइएको किसान तामप्रसाद भट्टले जानकारी दिए । ‘फूलमा आत्मनिर्भर बन्दै बाह्य जिल्लामा निर्यात गर्न सफल भइएको छ’, उनले भने, ‘अघिल्ला वर्षहरुमा थोरै क्षेत्रफलमा फूल लगाए पनि यस वर्ष चार रोपनी क्षेत्रफलमा खेती गरेको छु ।’
उनले उत्पादित फूल जिल्लाभित्र र नारायणगढमा लगेर बिक्री गर्ने गरेका छन् । प्रतिमाला रु दुई सयदेखि तीन सय ५० सम्म बिक्री हुने गरेको उनको भनाइ छ । यस वर्ष करिब रु डेढरदुई लाखसम्मको फूल बिक्री हुने अपेक्षा रहेको किसान भट्ट बताउँछन् । त्यस क्षेत्रका फूल उत्पादक किसानले मुख्य याममा रु एक लाख बढीको बिक्री गर्ने गरेका छन् ।