पोखरा /
गत कार्तिक १० गते भिरबाट लँडेर घाइते भएका चर्चित अभिनेता प्रकाश घिमिरे बिहीबार मणिपाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अस्पतालका निर्देशक अभिषेक मास्केले एक हप्तामा फलोअपमा आउने गरेर अभिनेता घीमिरेलाई डिस्चार्ज गरिएको बताए । ‘बिरामीको अवस्था एकदमै राम्रो छ । हेड इन्जुरी पनि राम्रोसँग सुधार भएको छ । करङ भाचिएर फोक्सोमा लागेको चोट तथा ढाँडको पछाडिपट्टी भागमा काटेको समेत निको हुँदै गएको छ, छोरीपनि काठमाण्डौं भएका कारण काठमाण्डौं लाने अवस्थामा हामी यहीं उपचार गर्न सक्छौं भनेर उपचारमा संम्लग्न डाक्टर र अस्पताल प्रशासनले गरेको कारण कन्भिन्स भएर राख्नुभयो, बिरामीको उच्च मनोबलका कारण समेत यो सम्भव भएको हो’ उनले भने ।
मणिपाल शिक्षण अस्पतालमा गण्डकी प्रदेशका सहित देशका विभिन्न ठाउँबाट उपचारको लागि आउने गरेको र मेनपावर तथा प्रयोग गरिने इक्युपमेन्ट कारण उनीहरुले स्वास्थयलाभ गर्ने गरेको समेत उनको भनाई छ । ‘मणिपाल अस्पतालमा धेरैं ठाउँबाट बिरामी रिफर भएर आउँछन् हामीसँग मेनपावर इक्युपमेन्ट सबै भएको कारण उपचार सम्भव भयो’ उनले थपे ।
अस्पतालबाट डिस्चार्ज भए पश्चात प्रतिक्रिया दिँदै अभिनेता घिमिरेले अस्पतालको उपचार प्रद्धती तथा सबैको साथ समर्थनले स्वास्थ्य अवस्थामा सुधार भएको बताए । ‘अस्पतालले राम्रो उपचार गरिदिएको कारण उपचार छिटो भयो, सबैको साथ समर्थनले गर्दा मलाई निको भयो’ घिमिरेले भने ।
यसैगरी कलाकार अनुप बरालले अस्पतालले प्रदान गर्ने सेवा सुविधा तथा कलाकार घिमिरेको उच्च मनोबलका कारण छोटो समयमानै अस्पतालबाट डिस्चार्ज हुन सफल भएको बताए ।
‘हामीले काठमाण्डौं लैजानेकी भन्ने तयारी समेत त्यतिबेला गरेका थियौं, मणिपाल शिक्षण अस्पतालले उपचार यहीं सम्भव छ भनेपछि यहीं राख्यौं, अस्पतालले प्रदान गर्ने सेवा सुविधा, चिकित्सकहरुको मेहनत तथा घाइते अवस्थामा उपचार गराइरहेका प्रकाश घिमिरेको उच्च मनोबलका कारण आज अस्पतालबाट डिस्चार्ज हुन सफल हुनुभयो हामी खुशी छौं’ घिमिरेको सहपाठी समेत रहेका बरालले भने ।
केही दिन आईसियूमा राखेर उपचार गरिएका घिमिरेलाई गत आइतबार न्यूरो वार्डमा सारिएको थियो । स्वास्थ्य अवस्थामा राम्रो सुधार भएका कारण उनलाई डिस्चार्ज गरिएको हो । घिमिरे पोखरा नदिपुरको भिरमा घाँस काट्ने क्रममा लँडेर घाइते भइ अचेत भएका थिए । त्यसपछि पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो ।
झण्डै ५० वटा नेपाली फिल्ममा काम गरिसकेका अभिनेता घिमिरेको पछिल्लो समयमा व्यस्तता नेपाली फिल्मी क्षेत्रमा बढ्दै गएको छ । उनको कलाकारिता क्षेत्रको सुरुवात भने नाटकबाट भएको हो ।
नेपाल अहिलेबाट