बाँके : बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहले स्थानीय समुदायको समग्र विकासमा साझेदारी गर्दै आएको छ।
काठ दाउरा बिक्रीबाट भएको आम्दानीलाई यो समूहले गाउँको विकासमा लगानी गरेको छ। कचनापुर खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत ट्याङ्की निर्माणदेखि उपभोक्ताको घरसम्म पाइप बिछ्याउने र मिटर जडान गर्ने कार्यमा समूहले ५० प्रतिशत लागत व्यहोरेको छ।
‘यति मात्र होइन, गाउँको विद्युतीकरणमा २० प्रतिशत लगानी र तीन किलोमिटर सडकमा सडक बत्ती जडान गरेर समूहले मदुई गाउँलाई उज्यालो बनाएको छ’, समूहका अध्यक्ष भगानु थारु भन्छन्, ‘हामीले समूहका सदस्य र उनीहरूका परिवारलाई आवश्यक सहयोग गर्नुका साथै समुदायका हरेक पूर्वाधारमा साझेदारी गर्दै आएका छौँ।’
अध्यक्ष थारुका अनुसार, सिँचाइका लागि मोटर र पाइप खरिदमा पनि समूहले ५० प्रतिशत अनुदान दिँदै आएको छ, जसले स्थानीय किसानलाई ठूलो राहत मिलेको छ। शिक्षा क्षेत्रमा स्थानीय लक्ष्मी माध्यमिक विद्यालयलाई ३० सेट बेन्च–डेस्क र आधुनिक शिक्षणका लागि स्मार्ट बोर्ड सहयोग गरेको यस समूहले विद्यालय भवन निर्माणमा पनि आर्थिक टेवा पु¥याएको छ।
कक्षा १० मा पढ्ने विद्यार्थीलाई जनही वार्षिक तीन हजार रुपैयाँ शैक्षिक सहयोग प्रदान गरिँदै आएको समूहका सह–सचिव अरुण गौतमले बताए। उनका अनुसार, स्वास्थ्यतर्फ पनि समूहको सक्रियता उत्तिकै छ। गाउँका दुई स्वयंसेविकालाई वार्षिक प्रोत्साहन भत्ता, गर्भवती आमाहरूलाई पोसिलो खाना र शिशुका लागि न्यानो कपडा वितरण गर्ने कार्यले स्थानीयमा अपनत्व बढाएको छ।
स्वास्थ्यतर्फ समूहले बिरामी पर्दा उपचारका लागि रकम अभाव भएमा सदस्यलाई २५ हजारसम्म तीन महिनाका लागि बिना ब्याज सापटी दिने गरिएको छ। समूहका कोषाध्यक्ष मीनबहादुर सेजुवालका अनुसार हालसम्म करिब ५० जनाले यो सुविधा लिइसकेका छन्।
त्यस्तै, स्वरोजगार बन्न चाहने उपभोक्ताका लागि समूहले एक लाखसम्म सापटी दिने गरेको छ। दुई वर्षभित्र फिर्ता गर्ने गरी दिइने यो बिना ब्याजको रकमले हालसम्म २० जना उपभोक्ताले आफ्नै व्यवसाय सुरु गरिसकेका छन्। वनको संरक्षण र व्यवस्थापनले स्थानीयलाई प्रत्यक्ष रोजगारीसमेत दिएको छ।
झाडी सफाइ, काठ कटान र घाटगद्दीको काममा बाहिरका मजदुर नबोलाई स्थानीय उपभोक्तालाई नै प्राथमिकता दिइन्छ। झाडी सफाइमा मात्रै वार्षिक सात लाख खर्च हुने गरेको र एउटा सिजनमा एक उपभोक्ताले ६० हजारसम्म आम्दानी गर्ने गरेको सहसचिव गौतमको भनाइ छ।