काठमाडौँ/
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाइरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आह्वान गरेका छन् । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्युङसँगको दुई पक्षीय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाइरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताएका हुन् ।
नेपालमा लगानी गरेका भारतीय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकोकोला र पेप्सी, भारतीय कम्पनी आईटीसी इन्डिया, मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाइरहेको भन्दै उनले भने, ‘हामीहरुले चालु आर्थिक वर्षको बजेट मार्फत् निजी क्षेत्रको लगानीलाई थप सहजीकरण गर्ने प्रयास गरेका छौं ।’
कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न नेपाल इच्छुक रहेको उनको भनाइ छ । नेपाल सरकारले ‘इज अफ डुइङ बिजनेस’मा निरन्तर सुधार गरिरहेको भन्दै कोरियन लगानीकर्तालाई झन्झट नहुने मन्त्री महतले आश्वासन समेत दिए । ‘भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरिसकेको छ,’ महतले भने, ‘जलविद्युत् उत्पादन, प्रसारण र वितरणलाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटन लगायतका क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्न सक्ने अवसर छ ।’
उनले नेपाली कामदारलाई कोरियामा लगेर कोरियन कम्पनीले राम्रो प्रगति गरिरहेको भन्दै मन्त्री महतले नेपालमै लगानी गरेर लाभ लिन र नेपालको आर्थिक वृद्धिमा पनि सहयोग गर्न आग्रह गरे ।