सुचना, समाचार र मनोरन्जन
Sarangi

पाल्पामा चिच्याएर वर माग्ने मेलाशुरु

पाल्पा/

चिच्याएर वर माग्ने मेला पाल्पामा शुरु भएको छ । हरेक वर्ष पाल्पाको तिनाउ गाउँपालिका–४ को सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ । बिहीवारदेखि शुरु भएको मेला पाँच दिनसम्म चल्नेछ ।

भक्तजनको ठूलो सहभागिता हुन थालेपछि विगतमा तीन दिनसम्म चल्ने मेला यो वर्षदेखि पाँच दिनसम्म सञ्चालन गर्न लागिएको सत्यवती ताल संरक्षण विकास व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । उहाँका अनुसार यस वर्ष झन्डै दुई लाख बढी भक्तजन मेलामा सहभागी हुने अनुमान छ ।

मेलामा हरेक भक्तजनले रातको समयमा बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर तालमा गाँड्ने र आफूले गाँडेको लिङ्गो भोलिपल्ट चिनेर पूजा गरेपछि वर मागेर फर्कने परम्परा छ । मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले चिच्याएर वर मागे मनोकामना पूरा हुने विश्वास छ ।

धार्मिक पर्यटकीयस्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको विश्वासमा चिच्याएर वर माग्ने गरिन्छ । यहाँ बाँसको लिङ्गो लिएर आवाज निकाल्ने गरी चिच्याउँदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिङ्गो गाडेर पूजा गर्ने गरिन्छ । मन्दिरमा प्रायः रातको समयमा पूजा गर्ने प्रचलन छ ।

एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले मनोकाङ्क्षा मागेको बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिएकोमा ती युवाले घर फर्किएलगत्तै सुनाउँदा उनको मृत्यु भएकाले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको पौराणिक कथन छ ।

परापूर्वकालमा सत्यवती बज्यैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिँडेको र त्यही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किंवदन्ती छ । नेपालका विभिन्न जिल्ला र भारतको सुनौली, नौतुना, गोरखपुरलगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा हरेक वर्ष यहाँ लाग्ने मेलामा दर्शनार्थी मन्दिरमा पूजाआजा गर्न आउने गर्दछन् ।

Leave A Reply

Your email address will not be published.