पोखरा /
पर्यटकले खचाखच भरिने पोखरा पुसमा दुई दशक अगाडिसम्म अफ सिजनको रुपमा सुनसान हुन्थ्यो । अँग्रेजी नयाँ वर्षमा पोखरामा आएका पर्यटक पनि अन्यत्र नयाँ वर्ष मनाउन बाहिरिने र पोखराका व्यवसायी समेत व्यवसाय बन्द गरेर घुम्न निस्कने परम्परा थियो ।
त्यही अभ्यास रोक्न र पोखरामा कसरी पर्यटकलाई रोक्ने भन्ने विषयमा व्यवसायी छलफलमा जुटे र निष्कर्श निकाले, ‘स्ट्रिट फेस्टिवल’ गरौं । २४ वर्ष अगाडि फरक अवधारणाका साथ शुरु गरिएको ‘स्ट्रिट फेस्टिवल’ को २५ औं संस्करण ‘पोखरा सडक महोत्सव’ यस पाली पौष १२ देखि १६ सम्म पोखरामा हुँदैछ । ‘सडक मै खाउँ सडक मै रमाउँ’ भन्ने उद्देश्यका साथ आयोजना गरिने यो महोत्सवमा फरकपन ल्याउने महोत्सव आयोजक रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल {रेवान} पोखराको दावी छ ।
यस पटक रेवान पोखराले सडक महोत्सवका ‘सिल्भर जुभ्ली’ मनाउँदैछ । सडक महोत्सवले २५ वर्षे इतिहास कायम गरेको छ । अँग्रेजी नयाँ वर्षमा हुने यो महोत्सव पोखराको हकमा परम्परा नै बनिसकेको यहाँका पर्यटन व्यवसायीहरु बताउँछन् । रेवान पोखराका कार्यबाहक अध्यक्ष एवं महोत्सवका संयोजक विश्वराज पौडेलले पोखरा सडक महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सफल भएको बताउँछन् ।
महोत्सवलाई लक्षित अँग्रेजी नयाँ वर्षमा यहाँका होटलका झण्डै ४० हजार रुम बुक हुन्छन् । यसबाट पनि पुष्टि हुन्छ सडक महोत्सवको महत्व । ‘अर्को कुरा यो मेला महोत्सव मात्र होइन, यसले हाम्रो कला तथा सँस्कृतिलाई जगेर्ना गर्ने काम गर्छ । महोत्सवमा अरु धेरै प्रवद्र्धनात्मक क्रियाकलाप पनि हुन्छन्,’ पौडेल बताउँछन् । गर्विलो इतिहास बोकेको महोत्सवलाई कसरी पृथक र आकर्षक बनाउने भन्ने कुरामा गृहकार्य भएको उनी बताउँछन् ।
उनी भन्छन्, ‘विगतका वर्षमा जस्तै साँस्कृतिक कार्यक्रम, मौलिक सँस्कृतिको प्रर्दशनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना, कन्सर्ट तथा डकुमेन्ट्री प्रर्दशनी, विभिन्न खेलकुदको आयोजना त हुन्छ नै थप अन्य कुराको लागि सरोकारवालाको सुझावलाई ग्रहण गरेका छौं ।’ ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको विश्वास छ । महोत्सवमार्फत देशमा लुकेको कला तथा संस्कृतिलाई बाटोमा देखाउँदा आकर्षित हुनुका साथै नेपालको कला सँस्कृतिलाई विश्वव्यापी रुपमा प्रचार प्रसार गर्नको लागि महोत्सव सहयोगी रहेको रेवान पोखराका पूर्व अध्यक्ष गोपीभट्टराई बताउँछन् ।
होटल रेष्टुरेन्ट भित्र पाक्ने खानेकुरा सडकमा खान पाउँदा यसको महत्व झनै बढेको पाइएको उनको बुझाई छ । पर्यटकलाई सुपथ मूल्यमा बसोबासको लागि होटल एसोसियसनसँग समन्वय गरेर २० प्रतिशत छुटको व्यवस्था गरिने रेवानले जनाएको छ ।
पाँच दिनसम्म चल्ने महोत्सव लेकसाइडको फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेबरसम्म हुनेछ । पोखराको पर्यटन प्रवर्द्धनमा महोत्सवको योगदान महत्त्वपूर्ण रहदै आएको रेवान पोखराका महासचिव विकास भट्टराई बताउँछन् ।
पोखरा पर्यटन परिसद अध्यक्ष पोम नारायण श्रेष्ठले रेवानले २५ वर्षसम्म सडक महोत्सव आयोजना गरेर पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगेको बताए । सडक महोत्सव अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित भएको उनी बताउँछन् ।