काठमाडौं :
आध्यात्मिक प्रवचनमा व्यस्त रहदै आएका अभिनेता निखिल उप्रेती नयाँ फिल्मको तयारीमा जुटेका छन्। एक दशक अघि ३÷४ वटासम्म फिल्मको छायांकनमा व्यस्त रहने अभिनेता उप्रेती केहि वर्ष यता आध्यात्मिक तथा प्रवचनमा लागेका थिए। उनले अभिनय गरेका केहि फिल्म असफल भएपछि उनी अभिनयबाट ओझेलमा परेका थिए।
अब भने उनी हलिउडको मार्भल स्टुडियोको फिल्मबाट प्रभावित भएर सुपरहिरो फिल्म बनाउने योजनामा रहेको जानकारी दिएका छन् । हालै उनले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा आफु हलिउडको मार्भल स्टुडियोबाट प्रभावित बनेको र संसारलाई देखाउन सुपरहिरो फिल्म बनाउन लागेको बताएका छन्।
उनले भनेका छन्,‘म मार्भलबाट प्रभावित भएर फिल्म बनाउँदैछु । बजेट अवश्य पनि ठूलो लाग्छ । तर, नेपाली फिल्म भनेर बाहिरका लागि पनि देखाउन सकुँ न ।’
उनले आफु हलिउडबाट प्रभावित भएता पनि फिल्मको सुपरहिरो नेपालीपन बोकेको हुने दाबी गरेकछन्।
उनी भन्छन,‘हाम्रो फिल्म विश्वले हेरोस् भन्ने उद्देश्यले नै सुपरहिरो फिल्म बनाउन लागेका हौं,’ उनी भन्छन्, ‘हाम्रो सुपरहिरो कस्तो होला ? कति इनोसेन्ट होला ? ‘स्टाइडर म्यान’ जस्तो त पक्कै नहोला । आफूसँग पावर हुँदा पनि के काम गर्ने भनेर सोच्छ होला ।’
निखिलका अनुसार फिल्ममा लगानी ठूलो लाग्ने हुँदा केही व्यक्तिसँग प्रस्ताव राखेको छन्। जसका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)को सहयोग लिनेबारेमा पनि सोचिरहेका छन्।
यो फिल्मको निर्देशन निखिल आफैले गर्ने संकेत गरेका छन्। यो बाहेक उनले अरु कुरा खुलाएका छैनन्। एक वर्ष अघि अभिनेता राजेश हमाललाई लिएर नयाँ फिल्म निर्माण गर्न लागेको चर्चा चलेको थियो। उनीहरुलेसँगै बसेर कफि पिउँदै नयाँ काम गर्न लागेको हल्ला चले पनि अहिलेसम्म कुरा अगाडी बढेको छैन।