सुचना, समाचार र मनोरन्जन

उद्यमशिलताको विकासमा एनवाईईएफ, उद्यमी बन्न युवालाई प्रेरित गर्दै

शनिबार पोखरामा ‘योङ्ग इन्टरप्रेनर्स अफ पोखरा च्यालेन्जेज एण्ड अपरचुनिटी’ कार्यक्रम हुँदै ।

सन्तोष बस्याल
पोखरा ।

पोखरामा २०८० साउन २७ गते शनिबार व्यवसाय क्षेत्रमा लाग्नेहरुका लागि एक कार्यक्रम हुँदैछ । कार्यक्रमको नाम हो ‘योङ्ग इन्टरप्रेनर्स अफ पोखरा च्यालेन्जेज एण्ड अपरचुनिटी’ अर्थात पोखराका युवा व्यवसायीमा देखिएका चुनौति र अवसरहरु । कुटी रिर्सोटमा बिहान ८ बजेदेखि हुने कार्यक्रममा पोखराका सफल युवा व्यवसायीहरु वक्ताका रुपमा रहेका छन् । जसमा पालिखे ब्रदर्श प्रालीका प्रबन्ध निर्देशक प्रकाश देव पालिखे, केसी ग्रुपका निर्देशक किरण केसी, बिग स्प्लाश वाटरपार्कका प्रबन्ध निर्देशक अमित राज मुल्मी र मिडटाउन ग्यालेरीजका प्रबन्ध निर्देशक निकेश द्वा छन् । मध्यस्थकर्ताको रुपमा स्वाकन अन्तर्राष्ट्रिय अस्पतालका निर्देशक मिलन केसी रहेका छन् ।

Gokarna Karki

नेपाली युवा उद्यमी मञ्च (NYEF) ले आयोजना गरेको कार्यक्रममा पोखरामा कलेज पढ्ने युवा युवतीहरुको उपस्थिति रहनेछ । जहाँ व्यवसायमा देखिएका चुनौति सँगै अवसरका विषयमा छलफल हुनेछ । पोखरामा हुने उक्त कार्यक्रमको संयोजन युवा व्यवसायी ई.सरोज कायस्थले गरिरहेका छन् । उनका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।

पछिल्लो समयको आवश्यकतालाई मध्यनजर गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको हो । व्यवसाय गर्न इच्छुक युवाहरुलाई प्रेरित गर्ने उद्देश्य स्वरुप एनवाईईएफ अगाडि बढीरहेको छ । सन् २००४ देखि क्रियाशिल संस्था हो एनवाईईएफ । जसले युवाहरुलाई स्वरोजगारमा लाग्न विविध कार्यक्रमको आयोजना गर्दै आएको छ । देशका ७ वटै प्रदेशमा यसले आफ्नो शाखा विस्तार गरिसकेको कायस्थ बताउँछन् । १२ च्याप्टेरमा ८ सय भन्दा बढी सदस्यहरु आबद्ध छन् ।

कायस्थका अनुसार ४० वर्ष भन्दा कम उमेरका युवाहरुको समूह एनवाईईएफ हो । १९ वर्षदेखि क्रियाशिल संस्थाले युवा जागरण र उद्यमशिलताको विषयलाई बढी उजागर गर्दछ । व्यवसायलाई बढ्वा दिन बजारीकरणको विस्तारलाई ख्याल गर्नुपर्ने हुन्छ । एनवाईईएफका माध्यम बजारीकरणमा टेवा पुगेको विश्वास गर्न सकिन्छ । एनवाईईएफले एउटा व्यवसायी र अर्को व्यवसायी बीचको सम्बन्धलाई सुदृढ बनाउँछ ।

व्यवसायिक सीपमूलक तालिमको आयोजना गरि युवाउद्यमी उत्पादन गर्ने कार्यमा एनवाईईएफ लागिरहेको कायस्थको भनाई छ । भन्छन्,‘व्यवसाय देशको मेरुदण्ड हो । त्यसलाई आत्मसात् गर्दै हामीले विभिन्न स्थानमा सीपमूलक तालिमको आयोजना गर्दै आएका छौं । जसले व्यवसायिक क्षेत्रमा लाग्न चाहने युवा व्यवसायीहरुलाई सहज भएको छ ।’

नेपालमा नै उत्पादन बढाउनुपर्ने विषयमा वकालत गर्दै आएको संस्था एनवाईईएफ हो । बाहिरी मुलुकको आयतित वस्तु भन्दा नेपालमा नै उत्पादनको क्षेत्रमा बढ्वा दिनुपर्ने आवश्यकतालाई उसले औंल्याएको छ । कायस्थका अनुसार सुविधाका लागि नेपालका युवाहरु विदेशिने गरेका छन् । भन्छन्, ‘नेपालमा अवसरहरु नभएको होइन । उद्यमशिलतामा धेरै गर्न सकिन्छ । ट्रेडिङ व्यवसायलाई मात्र आत्मसात् गरी अर्थतन्त्रमा सुधार आउँदैन । भिजन सहितको व्यवसाय आवश्यकता छ ।’, उनले भने ।

भारतबाट मासुका लागि खसी ल्याउने गरिएको छ । आयतमा लगानी बढ्दा त्यसको बिक्रीमा समेत महङगाई बढेको पाइन्छ । नेपालमा नै उत्पादन गरियो भने स्वरोजगारी बढ्ने धारणा उनको छ । उत्पादनमुखी व्यवसायमा नलाग्दा आर्थिक स्थितिमा उन्नति नभएको उनी बताउँछन् ।

उसो त पछिल्लो समय युवाहरुमा व्यवसाय गर्ने सोच नभएको पनि होइन । तर व्यवसायको सुरुवात नै कसरी गर्ने भन्ने विषयमा अन्यौलता सिर्जना हुँदा पछाडि पर्नुपर्ने अवस्था आएको छ । लगानीको चाँजोपाँजो कसरी मिलाउने ? समस्या आजको हो । यसमा सरोजको फरक धारणा छ । उनका अनुसार लगानीको अभावका कारण नै व्यवसायको थालनी हुनबाट वञ्चित हुनुपर्ने अवस्था छैन । स्पष्ट भिजन सहितको व्यवसाय भएको खण्डमा लगानीका लागि बाटो समेत खुल्ला हुने भनाई उनको छ ।

भन्छन्,‘लगानी गरिसकेपछि हामीमा तत्काल प्रतिफल खोज्ने बानी छ । जसले गर्दा वितृष्णा आएको छ । व्यवसायलाई माथि उठाउन समय लाग्छ । निरन्तरको अथक मेहेनतले सफलता प्राप्ति हुन्छ ।’

ठूलो लगानीबाट सुरु भएको व्यवसाय भन्दा सानो लगानीको व्यवसाय टिकाउ भएको भनाई उनको छ । कुन व्यवसाय किन गर्दैछौं ? त्यसको प्रतिफल के हुन्छ ? भन्ने विषयमा सुक्ष्म अध्ययन गरेर मात्र व्यवसाय गर्दा उचित हुने उनले बताए ।

एकैपटक करोडौको लगानी गरेर माथि उठिन्छ भन्ने व्यवसायमा हुँदैन । सिमित लगानीबाट पनि व्यवसायलाई उठाउन सकिन्छ । मात्र बजार अध्ययन र नयाँपनको आवश्यकता भएको कायस्थ बताउँछन् । भन्छन्,‘व्यवसायमा लगानी गर्दा परीक्षणका लागि गर्ने समस्या नेपालमा अधिक छ, यसो गर्नुहुँदैन । बुझेर मात्र लगानी गर्नुपर्छ ।’ विदेश जाँदैनजाने भन्ने होइन । विदेश गएर पनि उता सिकेका विषयलाई नेपालमा आएर प्रयोग गर्न खोजियो भने राम्रो हुने धारणा उनको छ । देशको राजनीतिक अवस्था पनि व्यवसायिकमैत्री हुनुपर्ने सुझाव उनको छ ।

सरोजको व्यवसायिक पृष्ठभूमी

सरोज कायस्थ पेशाले इन्जिनियर हुन् । २००९ देखि उनले पोखरामा व्यवसाय सुरुवात गरे । भैरवी पाउर कम्पनी उनको पहिलो व्यवसायिक संस्था हो । तत्कालिन समयमा अहिले जस्तो बिजुलीको सुविधा थिएन । १८ घण्टा लोडसेडिङ थियो । भारतबाट इन्जिनियर सकेर पोखरा आएपछि कायस्थले अन्धकारलाई कसरी उज्यालोमा ढाल्न सकिन्छ भनेर अनुसन्धान गरे । पोखराको उज्यालोपन मैनबत्ती र टुकीमा निर्भर थियो ।

उनको व्यवसाय त्यतिबेला सुरु भयो । जतिबेला माओवादी जनआन्दोलन चर्को थियो । व्यवसायिक क्षेत्रमा लाग्नु भनेको समस्या जस्तै थियो । तर पनि कायस्थले आँट गरे । उनले पोखरा बजारलाई उज्यालो बनाउन जेनेरेटरको प्रयोग गर्ने सोच बनाए । इन्जिनियरिङ विषय पढेको र भारतमा नै इलेक्ट्रीसियनको रुपमा काम गरेको अनुभवका कारण उनलाई व्यवसायमा लाग्न सहज भयो । ठीक्कको लगानीमा व्यवसाय सुरुवात गरे । उज्यालो पोखरालाई साकार बनाउने लक्ष्यका साथ उनले पाँच वर्षीय योजना तय गरे । जसले सफलता समेत पायो । व्यवसायिक रुपमा समेत उनलाई फाइदा मिल्यो । आर्थिक, सामाजिक रुपमा नै सक्रियता बढ्न थाल्यो । अहिले न्योकस कन्सर्न प्राली संचालन गरी कायस्थ अगाडि बढीरहेका छन् ।

Leave A Reply

Your email address will not be published.