काठमाडौं :
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’को डबिङ गरेका छन्। उनले शनिबार अनामनगरस्थित ‘द म्युजिक इरा रेकडिङ स्टुडियो’मा पुगेर आफ्नो भागको दृश्यको डबिङ गरेका हुन्। उनले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन्। केहि दिन अघि पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीले आफ्नो दृश्यको डब गरेका थिए।
प्रधानमन्त्री ओलीको डबिङसगै निर्माण टिमले फिल्मको रिलिज मिति तोकेका छन्। उनीहरुले फिल्मको प्रदर्शन मिति आगामी भदौ ७ गतेलाई तोकेका छन्। फिल्मका निर्देशक रमित ढुङ्गानाका अनुसार आगामी भदौ ७ गतेलाई प्रदर्शन मिति तोकिएको हो। एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित रहेको फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ।
शिवम् अधिकारीको कथा रहेको यस फिल्मको पटकथा उनैको रहेको छ। यो फिल्मलाई निर्माण टिमले साढे दुई वर्ष लगाएर लेखेको बताएका छन्। फिल्ममा प्रधानमन्त्री ओली,पुर्वप्रधानमन्त्री नेपाल र सांसद शाहीका अलवा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ। साथै सुरवीर पण्डित, सुनिल कटुवालको पनि अभिनय रहेको छ।
रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस फिल्ममा प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन , ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।