सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित

 

म्याग्दी : टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको जनाइएको छ । बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीले बताए । कात्तिकको तेस्रो हप्तादेखि सुन्तला झर्ने समस्या देखिएको छ ।

 

‘बजार पठाउने समयमा बोटबाट सुन्तला झर्न थालेपछि किसानहरू चिन्तित भएका छन्’, बेनी–४ वडासदस्य समेत रहेका खत्रीले भने, ‘बोटमा राम्रो फल लागे पनि झर्ने समस्याका कारण कृषकको आम्दानीमा असर पर्ने देखिएको छ ।’

 

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा केही दिनअघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिकको टोलीले झरेका सुन्तलाको नमूना सङ्कलन गरेर परीक्षणका लागि लगेका छन् ।

 

IVF Big

प्रयोगशालाको प्रतिवेदन आएपछि के कारणले सुन्तला झरेको हो भन्ने पहिचान हुने केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए । ‘दानाभित्र औसा परेर सुन्तला झरेको छ’, उनले भने, ‘सुर्यपुतलीको शङ्का लागेर परीक्षण गर्न पठाएका हौँ । प्रयोगशालाको प्रतिवेदन आएपछि समस्या पहिचान हुन्छ ।’

 

बास्कुनाको छिमेकी बेनी –३ मरेक र मङ्गला गाउँपालिकाको महेशमा पनि सुन्तला झर्ने समस्या देखिएको बताएका छन् । प्राविधिकले झरेका सुन्तलाका दानालाई प्लास्टिकको थैलोमा राखेर बन्द गर्न सुझाव दिएका छन् । सूर्यपुतली नियन्त्रण गर्न बगैचामा टाइट ट्याप (पासो) थाप्न र धुवा बनाउन प्राविधिकले सुझाएका छन् ।

 

दुई सय बोटको बगैँचाबाट दैनिक एक डोको झरेका सुन्तला टिपेर फाल्ने गरेको बास्कुनाका अर्का कृषक दीर्घबहादुर खत्रीले बताए । बास्कुना, सुर्केमेला र थामडाडाका ४५ घरधुरीले करिब १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । गत वर्ष सो ठाउँबाट ७५ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको थियो ।

 

धादिङबाट आएका व्यापारीले नपिप्टै अग्रिम पैसा दिएर बगैँचा ठेक्कामा किनेका छन् । व्यापारी कान्छाराम तामाङले सुन्तलामा रङ र गुलियो पसेकाले टिपेर बजार पठाउन थालिएको बताए । जिल्लाको सुन्तला पोखरा, काठमाडौं, चितवन, विराटनगर र बुटवलमा पठाउने गरिएको उनले बताए ।

 

केन्द्रका अनुसार गत वर्ष म्याग्दीमा २१ करोड मूल्य बराबरको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्री भएको थियो । जिल्लामा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकोमा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिन्छ । यस वर्ष क्रप कटिङ विधिबाट सुन्तलाको उत्पादनको अवस्था पहिचान गर्ने तयारी गरेको केन्द्रका बाली संरक्षण अधिकृत गङ्गा लामीछानेले बताइन् ।

Leave A Reply

Your email address will not be published.