काठमाडौं :
नेपाली चलचित्र ‘परदेशी २’ले हलमा दर्शकको साथ पाएको छ । दर्शकको उल्लेखनीय उपस्थितिका साथ शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको चलचित्रले आइतबार पनि धेरै हलमा हाउसफुल दर्शक पायो । शनिवार उपत्यकासहित देशभरका हलमा यो चलचित्र हेर्न दर्शकको चाप रह्यो ।
हलबाट निस्किँदै गरेका अधिकांश दर्शकले चलचित्र एकदमै मन परेको बताएका छन् । अधिकांश दर्शक चलचित्र हेरेर निस्किदा भावुक देखिएका थिए । उनीहरुले चलचित्रले घरी हँसाउँने, घरी रुवाउँने र धेरै दृश्यमा गम्भीर समेत बनाउने बताएका छन् ।
चलचित्र हेर्न पुगेकामध्ये कोही एक्लै समेत देखिएका थिए भने कोही साथीभाई र परिवारसहित हल पुगेर चलचित्र हेरेका छन् । शनिवार चलचित्रको व्यापार पनि शुक्रवारको भन्दा स्वाभाविक बढी भएको निर्माण पक्षले बताएको छ ।दर्शकहरूबाट प्राप्त सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रले दर्शक बढाउँदै जाने देखिएको छ । निर्देशक नारायण रायमाझी दर्शकबाट पाएको प्रतिक्रियाले निर्माण टीमा उत्साहित रहेको बताउँछन् ।
‘शनिवार बुटवल, पोखरा, नेपालगञ्ज, चितवनसहित काठमाडौंका हल हाउसफुल भए’ रायमाझीले भने, ‘माउथ पब्लिसिटीले एकदमै राम्रो भइरहेको छ । हिजोभन्दा आज बिहान, बिहानभन्दा दिउँसो, दिउँसोभन्दा बेलुका दर्शक बढेका छन् । भोलिका दिनमा अझ राम्रो हुने विश्वास छ ।’ आइतवार पनि सार्वजनिक बिदा परेका कारण चलचित्रलाई फाइदा पुगेको थियो।
निर्देशक रायमाझी, अभिनेता प्रकाश सपूतसंगै अभिनेत्रीद्धय केकी अधिकारी र वर्षा शिवाकोटी राजधानीका हलहलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् । त्यसक्रममा केही दर्शकहरु कलाकारको अङगालोमा रोएको समेत देख्न सकिन्थ्यो । दर्शकबाट पाएको प्रतिक्रियाले कलाकारहरु पनि उत्साहित र खुशी देखिएका छन् । कलाकारहरुले पनि सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रले दर्शक बढाउँदै लगेको बताए ।
चलचित्रमा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ । राजेश वंशल र निर्देशक रायमाझी मिलेर यो चलचित्र बनाएका हुन् । निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्रहरू दिएका थिए । ‘परदेशी २’ दशैंको अवसर पारेर घटस्थापनाको दुई दिन अघिबाट प्रदर्शनमा आएको हो ।