काठमाडौं :
आगामी वैशाख ११ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को फस्ट लुक्स सार्वजनिक भएसँगै मुख्य कलाकारको चर्चा चुलिएको छ। सार्वजनिक पोस्टरले विशेषगरी सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतको भूमिकालाई केन्द्रमा राखेको छ।
निर्माण टिमले बिहीबार सार्वजनिक गरेको पोस्टरमा तीनै कलाकार गम्भीर र भावनात्मक अवस्थामै देखिन्छन्। सिउँदोमा सिन्दुर र निधारमा टीका लगाएकी सुहाना बाहिरी रूपमा वैवाहिक महिलाको रूपमा प्रस्तुत भए पनि अनुहारमा देखिएको उदासीले उनको पात्रको आन्तरिक संघर्ष झल्काउँछ। यसले पारिवारिक सम्बन्ध र सामाजिक दबाबबीचको द्वन्द्वलाई संकेत गरेको विश्लेषण गरिएको छ।
यता प्रकाश सपुत घुम ओढेर, आँखा रसिला पार्दै गहिरो भावमा देखिएका छन्। उनको प्रस्तुतिले पीडा, पश्चाताप वा दबिएको आक्रोशको आभास दिन्छ। सौगात मल्ल पनि पोस्टरमा भावुक मुद्रामा प्रस्तुत छन्, जसले कथामा गम्भीर मोड र सामाजिक टकरावको संकेत गर्छ।
तीनै कलाकारको अभिव्यक्तिले फिल्म ग्रामीण परिवेशमा आधारित सामाजिक–मनोवैज्ञानिक कथावस्तुमा केन्द्रित रहेको स्पष्ट पार्छ। पोस्टरमा देखिएको आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले पात्रहरूबीचको सम्बन्ध र सानो घटनाबाट ठूलो परिणाम निम्तिन सक्ने अवस्थालाई प्रतीकात्मक रूपमा चित्रण गरेको देखिन्छ।
निर्देशक लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यस फिल्मको अन्य कलाकारमा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने तथा बाल कलाकार मन्जिला बाँनियालगायतको पनि अभिनय रहेको छ।
फिल्म साहित्यकार गुरुप्रसाद मैनालीको चर्चित कथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ। यसअघि सोही कथामा निर्देशक प्रताप सुब्बाले पनि फिल्म निर्माण गरेका थिए।
फस्ट लुक्स सार्वजनिक भएसँगै दर्शकमाझ कलाकारको भूमिकाप्रति चासो बढेको छ भने वैशाख ११ गते प्रदर्शनपछि उनीहरूको अभिनय कत्तिको प्रभावशाली देखिन्छ भन्ने प्रतीक्षा सुरु भएको छ।
