काठमाडौं :
पछिल्लो हप्तासम्म नेपाली बक्सअफिसमा तीन चर्चित फिल्महरूले उल्लेख्य कारोबार गरेका छन्। नीर शाह मुख्य भूमिकामा रहेको फिल्म ‘परान’ ले प्रदर्शनको १६ दिनमा आक्रामक कमाइ गर्दै सिनेपाः बक्सअफिसमा ९ करोड ८६ लाख रुपैयाँ ग्रस आम्दानी गरेको छ। फिल्मले सो अवधिमा ३ लाख ४७ हजार १७५ टिकट बिक्री गरेको छ। आइतबारको कलेक्सन जोडिँदा ‘परान’ को कूल ग्रस १० करोड नाघेको बताइए पनि चलचित्र विकास बोर्डले भने आधिकारिक विवरण सार्वजनिक गरेको छैन।
यसैबीच, दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी २’ ले ९ दिनमा ४ करोड ९२ लाख २२ हजार ९७६ रुपैयाँ ग्रस कमाएर उल्लेख्य प्रदर्शन कायम राखेको छ। सिनेपाः बक्सअफिसले शनिबारसम्मको कलेक्सन सार्वजनिक गर्दै फिल्मले १ लाख ६२ हजार ३३३ टिकट बिक्री गरेको जानकारी दिएको छ। निर्देशक उपेन्द्र सुब्बाको ‘जारी’ पहिलो श्रृंखलाले १६ करोडभन्दा धेरै कमाएर ठूलो सफलता पाएको थियो।
अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ पनि प्रदर्शनमा रहँदै स्थिर कारोबार गरिरहेको छ। सुयोग गुरुङ निर्देशित यस फिल्मले पछिल्लो शनिबारसम्म १२ करोड ७ लाख ३४ हजार ३४६ रुपैयाँ ग्रस कमाइसकेको छ। चलचित्र विकास बोर्डका अनुसार, फिल्मले हालसम्म ३ लाख ८५ हजार ९२८ टिकट बिक्री गरेको छ। यी तीन फिल्मले घरेलु बक्सअफिसमा निरन्तर दर्शक आकर्षित गरिरहेका छन्।
