काठमाडौं :
फिल्म सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा पारस बम अनुबन्धित भएका छन्। ‘कुल ब्वाइ’को नामबाट चर्चित बमलाई निर्र्माण टिमले फिल्मको मुख्य भुमिकामा अनुबन्ध गरेको हो।
उनी टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’को रूपमा समेत चर्चित छन्। निर्देशक सशान कँडेलका अनुसार होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेर बन्न लागेको यस फिल्मलाई कलाकार बमलाई डेब्यु गराउन लागिएको हो।
‘कान्छी कता हिँडेको’, ‘बुवाको नाक होस’ लगायतका गीतहरू गाएका बमलाई फिल्मको पात्र अनुसार छनोट गरिएको निर्देशक कँडेलले जानकारी दिए। यस अघि ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए।
‘होस्टेल ३’को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन्। यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्। यसअघि बनेका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’लाई सुनिल रावलले बनाएका थिए भने ‘होस्टेल ३’लाई भने सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ। यसका निर्माताहरू शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन्।
यस वर्षको अन्त्यतिर ‘होस्टेल ३’को रिलिज लक्ष्य राखी काम अघि बढेको निर्देशकले बताए।