सुचना, समाचार र मनोरन्जन

उद्यममा रमाउँदै पर्वतकी जसमाया पुन, गर्छिन् वार्षिक १८ लाखको आम्दानी

सन्तोष बस्याल
पोखरा ।

पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोगी नियोग(कोइका) र युएनडीपीले बुधबार पोखरा सभागृहमा आयोजना गरेको इनोफेस्ट २०२३ कार्यक्रममा एउटा स्टल भेटियो । स्टलको नाम थियो ‘हम्पाल अल्लो तथा कपडा बुनाई उद्योग’ । ब्यानरमा कुश्मा नगरपालिका ५, पर्वत उल्लेख गरिएको थियो । अल्लोबाट बनेका सामानहरुको प्रदर्शन गर्न बसेकी थिइन् जसमाया पुन ।

कुनै समय थियो जतिबेला जसमायालाई कसैले पत्याउँदैनथे । आफ्नै इलम गर्छु भन्दा परिवार र समाजले हेर्ने दृष्टिकोण फरक थियो । घरकै चुलोचौकोमा दैनिकी बित्थ्यो । पैसाका अभावमा छटपटिनुपथ्र्यो । आम्दानीका लागि अर्काको भर पर्नुपथ्र्यो । ज्याला मजदुरी गरेर पेट पालिन्थ्यो । तर अहिले समय परिवर्तन भएको छ । जसमाया आफ्नै व्यवसायमा रमाइरहेकी छिन् ।

जसमाया उद्यममा लागेको लामो समय भइसकेको छ । २०५६ सालमा उनले तालिम लिइन् । २०५७ सालबाट नै व्यवसाय सुरुवात गरिन् । सुरुमा थालनी गर्दा उनको उद्योग दर्ता भइसकेको थिएन । नाम समेत जुरेको थिएन । घरमा नै खाली समयको सदुपयोग गर्दै उत्पादनमा लागि रहिन् । उनले उत्पादन गरेको सामान बिक्री हुन थाल्यो । दुई चार पैसा आम्दानी हुनेभएपछि २०६५ सालमा मात्रै उनले आफ्नो व्यवसाय दर्ता गरिन् ।

हम्पाल अल्लो तथा कपडा बुनाई उद्योगमा कोट, स्टकोट सिलाउने थान कपडा बन्ने गर्छ । सल, टोपी, स्विटर, पन्जा, जुक्ता, झोला, पर्स समेत उत्पादन गर्दै आएको जसमाया बताउँछिन् । ज्याला मजदुरी गर्ने जसमायालाई सफल उद्यमीको रुपमा समाजले चिन्ने गर्छ । हिजो आफुलाई नपत्याउनेहरुलाई आज सहयोग गर्ने भएकी छिन् ।

पोखरामा सम्पन्न इनोफेस्टमा सहभागीलाई आफ्नो उत्पादनबारे जानकारी गराउँदै जसमाया

चाल्ने सिस्नुलाई कच्चा पदार्थको रुपमा प्रयोग गरि जसमायाले सामाग्री निर्माण गरेकी छिन् । सकेसम्म स्थानीय स्रोतसाधनलाई नै कच्चा पदार्थको रुपमा प्रयोग गरिने उनले उल्लेख गरिन् । तर ग्राहकको मागअनुसार बजारबाट समेत कपडाहरु खरिद गर्नुपर्ने अवस्था आउने गरेको उनले बताएकी छिन् । बजारबाट कपडा खरिद गरिए पनि आफ्नो पहिचानलाई उनले गुम्न भने दिएकी छैनन् । ऊनी र कटनको समेत उनले प्रयोग गर्ने गरेकी छिन् ।

व्यवसायबाट जसमाया सन्तुष्ट छिन् । यहि व्यवसायले नै उनलाई समाजमा स्थापित बनाएको छ । छोरोछोरीको शिक्षा दिक्षा, पालनपोषण सँगै घरायसी खर्च धान्न सहज भएको छ ।

उनले उत्पादनको गरेको सामानको मुल्य फरकफरक छ । खासगरी अल्लोबाट उत्पादन गरिएको समान ९ सय रुपैयाँ देखि १५ सय रुपैयाँ प्रति मिटरमा बिक्री हुने गरेको छ । यस्तै ऊनी र अल्लो, कटन र अल्लो मिसाएर बनाइएको सामानको मुल्य ५ सय ५० रुपैयाँ देखि ७ सय ५० रुपैयाँसम्म निर्धारण गरिएको छ । जसमायाले उत्पादन गरेका सामान पर्वत, पोखरा, काठमाडौं, जापान, अष्ट्रेलिया, बेलायत लगायतका ठाउँहरुमा पुग्ने गरेको छ ।

आमा समूहबाट २० हजार अनुदान लिएर सुरु गरेको व्यवसायबाट अहिले उनले वार्षिक १० देखि १८ लाख सम्मको आम्दानी गर्ने गरेकी छिन् । उनको व्यवसायमा सरकारको समेत नजर परेको छ । सरकारी कार्यक्रममा सहभागी भई आफ्ना अनुभवहरु सुनाउँदा उनलाई सफल भएको महशुस हुन्छ । व्यवसायमा उनलाई बहिनी र छोरीले सहयोग गर्दै आएका छन् ।

जसमाया पुन उद्यम गर्ने महिलाहरुका लागि प्रेरणाको स्रोत हुन् । आफु जस्तै उद्यमी बनाउने बाटोमा समेत उनको सक्रियता छ । बेलाबेलामा तालिम समेत दिने गरेकी छिन् । देशभर उद्यम सम्बन्धि आयोजना गरिएका कार्यक्रमहरुमा उनको स्टलसहितको सहभागिता हुने गरेको छ ।

Leave A Reply

Your email address will not be published.