सुचना, समाचार र मनोरन्जन

‘परदेशी–२’को अर्को गीत ‘परदेशी छुकछुके रेलैमा…’रिलिज

काठमाडौं :

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक गरिएको छ । बुधवार बिहान फिल्म समावेश ‘परदेशी छुकछुके रेलैमा…’बोलको झ्याउरे गीत सार्वजनिक गरिएको हो ।

यहि फिल्ममा समावेश अर्को गीत केही दिन अगाडि सार्वजनिक भएको थियो। जुन गीतलाई स्रोता दर्शकले रुचाएका थिए।
यो गीतमा निर्देशक रायमाझी स्वयंमसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ । शब्द पनि निर्देशक रायमाझी स्वयंमले कोरेका छन् भने संगीत उनीसँगै प्रेमदेव गिरीले संगीत दिएका छन् ।

भिडियोमा फिल्मका मुख्य कलाकारहरु अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसँगै अर्का अभिनेता प्रशान्त तामाङलाई पनि प्रस्तुत गरिएको छ । शेखर घर्ती मगर, पूर्ण लामा र विवेक खड्का, रविता मगर, पवित्रा गुरुङ, विन्दु खड्का, लाक्पा लामा, सरस्वती धिमाल, प्रजी अहिना सुनार लगायतको नृत्य भिडियोमा हेर्न सकिन्छ ।भिडियोका निर्देशक रामजी लामिछाने र गोविन्द राई हुन् । यसमा नृत्य निर्देशन भने कुलमान नेपाली र शेखर घर्ती मगरको हो ।

‘परदेशी–२’ दशैंको छेको पारेर यही असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको फिल्ममा प्रकाश, केकी र प्रशान्तका साथमा वर्षा शिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको अभिनय छ ।

यस फिल्मको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । युवापुस्तामा रहेको विदेश मोहको कथामा आधारित चलचित्र सेन्सर पास भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.