काठमाडौं :
अभिनेता पल शाहको फिल्म एकपछि अर्को प्रदर्शनमा आउने भएको छ। यहि भदौ २१ गते एक्सन जनराको फिल्म ‘रावायण’प्रदर्शन हुँदैछ भने त्यस लगत्तै ‘मायावी’प्रदर्शनमा आउने भएको छ।
दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ले बुधबार फिल्मको रिलिज डेट लिएको हो। उनीहरुले यो फिल्म तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज गर्ने घोषणा गरेका छन्। यो हुँदा पल शाहको एकै महिनाभित्रमा २ वटा फिल्म प्रदर्शनमा आउने भएको हो।
लभस्टोरी फिल्ममा जमेका पल शाह ‘रावायण’मा भने उनी एक्सनमा उत्रिएका छन्। निर्देशक भट्टराईले तिहारको बिदाको अवसर पारेर रिलिज डेट लिइएको बताए। यो फिल्मको सम्पुर्ण तयारी केििह महिना अघि नै भइसकेको थियो। तर रिलिज मिति भने तोकिएको थिएन। फिल्मको मुख्य भूमिकामा पल शाहका अलला अभिनेत्री दीपिका प्रसाईं छन्। लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरिसकेका भट्टराई ‘मायावी’लाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मान्छन्।
पलको एकै महिनामा दूई फिल्म प्रदर्शनमा आउने भएपछि उनलाई समय निकाल्न चटोरो पर्ने देखिन्छ। यस फिल्ममा पल र दीपिकासँगै सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ । समिमले यही फिल्मबाट डेब्यु गर्दै छन् ।
फिल्मका निर्माता राज कटुवाल,चन्द्र पन्त र ध्रुव प्रसाद न्यौपाने हुन्। प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा राजु पराजुली, रमा प्रसाईं र सुमित ओली छन् ।
क्रिएटिभ सिने आट्र्सको प्रस्तुतिमा निर्माण भएको ‘मायावी’मा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत रचना छ।
निर्देशक भट्टराई स्वयंको लेखन रहेको फिल्मको कथा पोखराको परिवेशमा तयार पारिएको छ।
यसैगरी सोही दिन लक्ष्मीपूजामा प्रदीप खड्का स्टारर अर्को फिल्म ‘एक्टर’ पनि रिलिज हुँदै छ। नाम चलेका दुई कलाकारको फिल्म एकै मितिमा आउने निश्चित भएपछि दशैंजस्तै तिहारको बक्स अफिस भिडन्त पनि रोचक हुने देखिएको छ।