सुचना, समाचार र मनोरन्जन

पोखरा २२ लाई बालश्रम मुक्त बनाउने अभियानमा पोउवा संघ 

कास्की : पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले पोखरालाई बालश्रम मुक्त क्षेत्र बनाउने अभियानअन्तर्गत वडा नम्बर २२ मा सरोकारवालासँग छलफल गरेको छ ।

 

छलफलको क्रममा बालश्रममुक्त क्षेत्र निर्माणका लागि चाल्नुपर्ने आवश्यक कदमहरु, कानूनी पक्ष,वडा कार्यालय तथा नागरिक समाजको दायित्वबारे चर्चा गरिएको थियो । सामाजिक विकास केन्द्रका परियोजना निरीक्षक सफल बरालले बालश्रमविरुद्धको अभियानमा सरोकारवालाको भूमिका र कानूनी पक्षबारे जानकारी गराएका थिए ।

 

सामाजिक विकास केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सभासद प्रकाश बरालले बालश्रम न्यूनीकरणका निम्ति उद्योग वाणिज्य संघले निभाएको भूमिका प्रशंसनीय भएको बताए । निजी क्षेत्रले सामाजिक उत्तरदायित्वका साथै समाज सुधारको क्षेत्रमा पनि योगदान गर्नुपर्ने उनको भनाइ थियो ।

 

कार्यक्रममा पोखरा २२ का जनप्रतिनिधिसहित टोल विकास संस्था, आमा समूह, बाल क्लब एवं अन्य नागरिकहरुको उपस्थिति रहेको थियो । किडासाको सहयोगमा सम्पन्नमा कार्यक्रममा बोल्दै कार्यवाहक वडाध्यक्ष संजिव गुरुङले बालबालिकाको हितका लागि वडाले बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

बाल तथा युवा क्लबलाई प्रशिक्षण

सामाजिक विकास केन्द्रले निकृष्ट श्रममा रहेका तथा भूमिहीन नागरिकको बस्तीमा सिकाइ केन्द्रसमेत संचालन गर्दै आइरहेको छ । ती ठाउँहरुमा रहेका बालबालिका तथा युवाहरुलाई एकत्रित गरी बाल तथा युवा क्लब पनि गठन गर्दै रचनात्मक कार्य पनि हुँदै आएको केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनले बताए ।

 

पोखराका विभिन्न ८ ठाउँमा रहेका ती केन्द्रहरुमार्फत् बालबालिकाहरुलाई गृहकार्य गर्न सघाउने तथा क्षमता अभिवृद्धिका लागि तालिम र विविध कार्य गरिँदै आएको उनको भनाइ छ । यही उपक्रममा केन्द्रको कम्युनिटी हब परियोजनाअन्तर्गत गठित ९ वटै बाल क्लबका ३२ जना बालबालिकाहरुलाई आफ्नो काम,कर्तव्य र अधिकारबारे प्रशिक्षण दिइएको छ ।

 

सामाजिक विकास केन्द्रका परियोजना निरीक्षक सफल बरालको प्रशिक्षण रहेको कार्यक्रमको संयाजन परियाजना सुभरभाइजर अन्जना कोइरालाले गरेकी थिइन् ।

 

युवाहरुलाई पनि तालिम

 

केन्द्रको पहलमा गठन भएका  ८ वटा सिकाइ केन्द्रमा गठन भएका युवा क्लबका पदाधिकारीका निम्ति दुई दिने वृत्ति विकास तालिम पनि प्रदान गरिएको छ ।  तालिममा  व्यक्तिगत विकास  ,उद्यमशीलता,स्वयंसेवाको अवधारणाबारे  भक्तराज रसाइलीले प्रशिक्षण दिएका थिए ।  कार्यक्रममा ६४ जनाको सहभागिता भएको थियो ।

Leave A Reply

Your email address will not be published.