सुचना, समाचार र मनोरन्जन

टीकाको दिनमा पोखरा महानगरपालिको निःशुल्क बस सेवा

 

पोखरा : विजयादशमी २०८१ को अवसरमा पोखरा महानगरपालिकाले स्थानीय प्रशासन र यातायात व्यवसायीहरूको सहकार्यमा दशैको टीकाको दिन निःशुल्क बस सेवा सञ्चालनको व्यवस्था मिलाएको छ। यस सेवाले विशेषगरी घरपरिवार र आफन्तजनहरूसँग भेटघाट गर्न चाहने नागरिकहरूलाई यात्रा गर्न सहज बनाउने उद्देश्य राखेको छ।

पोखरा महानगरका मेयर धनराज आचार्यले निःशुल्क बस सेवा उपलब्ध गराउनु पनि नागरिक मैत्री सेवाहरूको निरन्तरता रहेको बताए। मेयर आचार्यले  सफा पोखरा अभियान, शहरी यातायात सुधार, तथा डिजिटल सेवा प्रबर्द्धन जस्ता पहलकदमीहरू थालनी गरेको पनि बताए।

विशेषतः दशैँको समयमा सञ्चालनमा ल्याइएको यो निःशुल्क बस सेवा, नगरवासीहरूको लागि अत्यन्त उपयोगी सावित हुने विश्वास उनले लिएका छन्।  यो सेवा बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ र निम्न रुटहरूमा निःशुल्क बस सेवा प्रदान गरिने उनले बताए।

१. कोत्रे – पृथ्वीचोक – चिप्लेढुङ्गा – बागलुङ बसपार्क

२.. फेदी – हेमजा – हरिचोक – पृथ्वीचोक

३. लामाचौर – बगर – महेन्द्रपुल – चिप्लेढुङ्गा – सृजनाचोक – विरौटा – छोरेपाटन – महेन्द्रगुफा

४. लेकसाइड – राजाको चौतारा – रुपाताल – सातमुहाने – खुदी – तालचोक – पृथ्वीचोक – बागलुङ बसपार्क

५. काहुँ खोला – महेन्द्रपुल – पृथ्वीचोक

६. वेगनासताल – तालचोक – पृथ्वीचोक

 

यसैगरी, मेयर आचार्यले पोखरामा ट्राफिक व्यवस्थापनमा सुधार, पार्कहरू र सार्वजनिक स्थलहरूको संरक्षण तथा सौन्दर्यीकरण, र नागरिक सेवा केन्द्रहरूको डिजिटलिकरण जस्ता कार्यहरूलाई प्राथमिकता दिइएको बताए। पोखरा महानगरपालिकाको यो पहलले दशैँको अवसरमा स्थानीय बासिन्दाहरूको यात्रा अझ सहज र सुरक्षित बनाउने उनले विश्वास लिएका छन। उनले आगामी दिनमा अझ प्रभावकारी योजना र कार्यक्रमहरूमार्फत पोखराको समग्र विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.