पोखरा महानगरपालिकामा झण्डै ३३ अर्ब रुपैयाँभन्दा बढीका ठूला र गौरवका आयोजनाहरू सञ्चालनमा रहेका छन् ।
महानगरपालिकाका मेयर धनराज आचार्यले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको समन्वयमा पोखरामा ऐतिहासिक विकासका कामहरू शुरु गरिएको बताउनु भयो । प्रमुख आयोजनाहरूमध्ये कोरियन सरकारको सवा २ अर्ब सहयोगमा बन्न लागेको अत्याधुनिक प्रदर्शनी केन्द्र एक हो । यसले झडै ३ हजार मानिसलाई रोजगारी दिने लक्ष्य राखिएको उहाँले बताउनुभयो।
त्यस्तै, कोइकाको झन्डै २ अर्ब सहयोगमा अत्याधुनिक ‘जलन केन्द्र’ अस्पताल निर्माण हुँदैछ । पोखराका सबै तालहरूलाई जोड्ने गरी साइकल लेन निर्माण गर्ने एडीबीकै प्रोजेक्ट अघि बढेको छ भने शान्ति वाटिकामा बोटानिकल गार्डेन बनिरहेको मेयर आचार्यले बताउनु भयो ।
पोखराको पुरानो बजारलाई हनुमानढोका वा बन्दीपुर जस्तै ‘हेरिटेज साइट’ को रूपमा विकास गर्ने गुरुयोजना तयार भएको छ । पञ्चासे क्षेत्रमा सवा अर्बको रिसर्च सेन्टर र टु–लेन स्टान्डर्डको बाटो बन्दैछ ।
‘उज्यालो पोखरा’ कार्यक्रम अन्तर्गत शहरका मुख्य चोकहरूमा ठूला बत्तिहरू जडान गरिएका छन् भने मुख्य बजारको बिजुलीको तारलाई ‘अण्डरग्राउण्ड’ गर्ने काम तिब्र गतिमा अघि बढेको छ।
विश्व बैंकको सहयोगमा तालचोक–बेगनास, सिसाघाट र कोत्रे–विरौटा सडकहरूको स्तरोन्नति भइरहेको छ, जसले पोखरालाई एउटा आधुनिक र सुरक्षित शहरको रूपमा स्थापित गर्ने अपेक्षा छ ।