सुचना, समाचार र मनोरन्जन

पोखरा रंगशाला व्यवस्थापनका लागि कार्यदल

पोखरा ।

कास्कीको पोखरा रंगशाला सञ्चालन र व्यवस्थापनका लागि प्रदेश खेलकुद परिषद गण्डकीले कार्यदल बनाएको छ । परिषदको निर्देशनमा जिल्ला खेलकुद विकास समिति कास्कीलाई सञ्चालन र व्यवस्थापनका लागि जिम्मेवारी दिइएको हो ।

सोमबार भएको जिल्ला खेलकुद विकास समिति कास्कीको बैठकले प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिलबहादुर गुरुङको अध्यक्षतामा कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यमा परिषदका सदस्य केशव पाठक, परिषदका सदस्य खगेन्द्र क्षेत्री, परिषदका सदस्य विनय थापा, जिल्ला खेलकुद कास्की अध्यक्ष तोरणबहादुर बानियाँ र जिल्ला खेलकुदकी सचिव कञ्चन थापा छन् ।

सदस्य सचिवमा जिल्ला खेलकुदका कार्यालय प्रमुख सुनबहादुर लामा छन् । कार्यदलको सल्लाहकारमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेशकुमार गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, प्रदेश खेलकुदका पूर्व सदस्य सचिव तेजबहादुर गुरुङ र भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी हरिप्रसाद पराजुली छन् । पोखरा महानगरको तर्फबाट एक जना प्रतिनिधि राख्न बाँकी छ ।

संघीय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्वुको अध्यक्षतामा भएको राखेपको एक सय १७ औं बोर्ड बैठकले राखेप अन्तर्गत सातै प्रदेशमा रहेका खेल पूर्वाधार प्रदेश खेलकुद परिषद अन्तर्गत व्यवस्थापन गर्न निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.