काठमाडौं :
अभिनेत्री पूजा शर्मा जस्तो हँसिलो रमाइलो हिरोइन कमै होलान्। उनी अरुको फिल्म होस् या आफ्नो डटेर काम गर्छिन्। प्रमोसनमा पनि उतिकै हिड्छिन्। तर शुक्रबार भने उनको अनुहारमा चमक थिएन। भदौ २१ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘रावायण’को टिजर कार्यक्रममा अबेला पुगेकी पूजा हल भित्र प्रवेश गर्दा निराश देखिन्थिन्।
तर उनले अबेला हलमा प्रवेश गरेकोमा पत्रकारसँग माफी त मागिनन्। तर उपस्थित सबै पत्रकारलाई भने भारी कन्टेट दिएर पठाइन्।उनले पत्रकारसँगको परिचयात्मक कार्यक्रममा अब रोएर फिल्म नचल्नेमा आफू ढुक्क रहेको बताएइन् । त्यसपछि हलमै हुटिङ चल्यो।
उनले भनिन्,‘अब रोएर फिल्म चल्दैन । टिमको राम्रो साथ पाइयो भने मात्र फिल्म चल्ने रहेछ।’
उनले पल शाह भएपछि कोही नचाहिने भन्दै औँधी खुशी देखिएकी थिइन्। हलमा प्रवेश गर्दाको त्यो मलिनो अनुहार एकाएक चम्किलो बनाईन्। सायद फिल्मको टिजरले उनको मन जितेको हुनुपर्छ। उनले यो फिल्म निर्माण हुनुभन्दा अघिबाट नै कन्ट्रोभर्सी बनेको भन्दै एकछिन हँसाईन्।
उनको अगाडि फिल्मका मुख्य अभिनेता शाहको मुहार उतिकै हँसिलो थियो। उनले फिल्ममा आफ्नो भुमिका दोहोरो भन्दै खुस्काए। जुन निर्माण टिमले अर्को प्रचारका लागि राखेको थियो। उनको मुखबाट खुस्किएपछि आफ्नो चरित्रको पारेमा पटापट भन्दिए।
उनले हँसिलो अनुहार बनाउँदै भने,‘मेरो लागि यो चरित्र नयाँ हो । फिल्ममा मैले कान्छा र राघव नामका दुई चरित्र निर्वाह गरेको छु । एउटा चरित्र पोजेटिभ र अर्को नेगेटिभ हुन्छ। फिल्ममा मेरा लागि नेगेटिभ पार्ट चुनौतीपूर्ण थियो । जुन ट्रेलरमा देखिएको छ ।’
फिल्मका निर्देशक सुदर्शन थापाले आफुले भन्दा पनि फिल्मको टिजरले बोलेको बताए।
टिजर हेर्दा शीर्ष भूमिका निर्वाह गरेका अभिनेता पल शाहको एक्सन दृश्यलाई प्राथमिकता दिइएको छ । पल फिल्मको टिजरमा दाह्रीजुंगा र कपालको गेटअपमा देखिएका छन् भने उनलाई पूरै एक्सन अवतारमा प्रस्तुत भएका छन्। सोही क्रममा फिल्मकी मुख्य अभिनेत्री पूजा शर्मा र प्रियंका कार्कीलाई पनि थोरै स्थान दिइएको छ।
प्रमोद अग्रहरी, प्रकाश शाह र प्रदीप ढकाल खलपात्रमा प्रस्तुत छन् । पूर्वमिस नेपाल निकिता चाण्डकको पनि झलक देख्न सकिन्छ ।
यो दृश्यले हलमा ताली बजेपछि निर्देशक थापाले फिल्ममा अलिक मज्जा आउने बताए।
‘अहिले टिजरमा मात्र मेरो भिजन देखिएको छ । दर्शकले पछि फिल्ममा अझ बढी हेर्न पाउनुहुनेछ,’ निर्देशक थापाले भने, ‘यो फिल्म मेरा लागि चुनौतीपूर्ण थियो । मैले यो फिल्ममार्फत आफूलाई परिवर्तन गर्ने कोसिस गरेको छु ।’
सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको यो फिल्ममा कार्यकारी निर्माता सुशन पाठक हुन्।