काठमाडौं :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालमा स्वदेशी तथा विदेशी शक्ति दबाब बढेको बताएका छन्। उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असाधारण ढंगको भएकाले शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै गइरहेको बताएका हुन्।
आइतबार बिहान मकवानपुरको हेटौंडामा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपालमा विदेशी शक्तिकेन्द्रको दबाब बढेको दाबी गरेका हुन्।
पत्रकारसँगको भेटघाटमा भने, ‘हाम्रो राष्ट्रिय अवस्था या हाम्रो भौगोलिक अवस्था, जसलाई हामी भूराजनीतिको अवस्था भन्छौं । त्यो कारणले ती शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै नै गइरहेको छ ।’
उनले विदेशमा भइरहेका घटनाहरुको असर नेपालमा परिरहेको समेत उनको भनाई छ।
‘हामी भारत र चीन जस्ता ठूला छिमेकीको बीचमा हुनुको नाताले अन्तर्राष्ट्रिय रुपमा घटेका घटनाक्रमहरुको असर नेपाललाई परिराख्या छ,’उनले भने,‘ त्यसकारण नेपालको राष्ट्रिय स्वाधिनतालाई रक्षा गर्ने, सुदृढ गर्ने कुरा, राष्ट्रिय एकतालाई बलियो बनाउने कुरा अहिले अझ बढी चुनौतीपूर्ण बन्दै गएको छ ।’