काठमाडौं :
‘पूर्णबहादुरको सारंगी’निर्माण टिमसँग रिसाएका कलाकार प्रकाश सपुत फिल्मको प्रचारप्रसारमा चासो राखेनन्। उनी पोखरा बाहेक कतै पनि फिल्म प्रचारका लागि हिडेनन्। बरु आफै फिल्म निर्माणमा लागेको र फिल्मकै काममा व्यस्त भएकाले फिल्मको प्रचारमा आउन नभ्याएको स्टाटस लेखे । निर्माण पक्षका टिमले पनि प्रकाश सपुतसँगको सहकार्यमा कुनै कुरा नबोल्ने भनेको थियो।
प्रकाशले आफ्नो फिल्म ‘वसन्त’रिलिजपछि यो फिल्म रिलिज गर्नुपर्छ भन्ने शर्त राखेका थिए। तर निर्माण टिमले आफ्नो लगानी सुरक्षित तिहारमै देखेपछि उनको शर्त लत्याउदै उनको फिल्म भन्दा अघि नै रिलिज गरे। इसपछि साराङ्गी टिम र प्रकाशबीच आन्तरिक द्धन्द्ध चर्कियो।
फिल्म हलमा लागेपछि पनि प्रकाशले कुनै प्रकारको आफ्नो फिल्मप्रतिको दाहित्य बहन गरेनन्। उनको हरेक स्टाटसमा नकरात्मक कमेन्टहरु बर्सिन थाले।
उनले निर्माण टिमलाई लक्षित गर्दै कार्तिक २ गते लेखेका थिए, ‘पर्दामा यस्तो सपना, संघर्ष र ईमानको कथा बनाएर बाहिर चाहिं अरुको सपना, संघर्ष र ईमानमाथि बेइमानी र बदनामी गर्नेहरूसँग चाहिं फेरि जोडिन नपरोस् । कम्तिमा मर्यादित बनौं । अर्को कुरा, सिर्जना दर्शकको शुभेच्छा र स्वयं सिर्जनाको दमले चल्छ ! सर्जक, निर्माता वा कलाकारको दम्भले होइन। म यो कुरामा सधैं स्पष्ट छु ।’
उनको कमेन्टमा उनलाई समर्थन गर्ने भन्दा पनि नकरात्मक प्रतिक्रिया आएपछि चुपचाप बसेका प्रकाश एकाएक फिल्म चलेपछि हलहलमा दौडिन थालेका छन्। फिल्मले नसोचेको सफलता हासिल गरेपछि उनी सफलताको स्वादका लागि हलमा दौडिरहेको देख्न सकिन्छ।उनी आफै फिल्मको बारेमा स्टाटस लेख्न थालेका छन्। उनको आफ्नो अडानबाट ओर्लिदै निर्माण पक्षसँग माफी मागेका छन्। शनिबार बेलुका सपुतले ‘जानी नजानी मन दुःखाएको’ भन्दै उनले माफी मागेकाृ उल्लेख गरेका छन्।
उनी लेख्छन्,‘जानी नजानी मन दुखाएकोमा माफी चाहन्छु । कमजोरीहरु सुधार्दै जाउँला। अब त उमेरले पनि अलि पाको हँुदै गईयो सस्तो चर्चा, परिचर्चा, सफलता, व्यवस्तताभन्दा पनि एउटा राम्रो विचार र व्यवहासहितको व्यक्ति बन्न चाहन्छु । यसरी खबरदारी चाहिँ गर्दै गर्नुस तर राम्रो ऊर्जा पनि दिनुस न है । म कलामार्फत थुप्रै कुरा भन्न सक्छु, समाजलाई सुसुचित र राज्यलाई प्रश्न गर्न सक्छु । तपाईहरुलाई निरन्तर मनोरन्जन गर्न सक्छु ! यति आत्मविश्वास छ।’
सरोज पौडेलको निर्देशन तथा विनोद पौडेल टिमको निर्माणमा बनेको यो फिल्मले हलमा राज गरिरहेका छन्। जताजतै हल हाउसफूल भएपछि निर्माण पक्ष उत्साहित बनेको छ। फिल्ममा प्रकाशका अलवा,बिजय बराल,मुकुन भुसाल,अञ्जना बराईली लगायत दर्जनौ कलाकारहरुले अभिनय गरेका छन्।