सुचना, समाचार र मनोरन्जन

पृथ्वीचोकमा पृथ्वीनारायण शाह भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीलाई ज्ञापनपत्र

पोखरा ।

पृथ्वीचोकमा पृथ्वीनारायण शाह भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाइएको छ । राष्ट्रनिर्माता गौरव अभियान पोखराले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई बोधार्थ राखी ज्ञापनपत्र बुझाएको हो ।

Gokarna Karki

ज्ञापनपत्रमा पृथ्वीचोकमा यथाशिघ्र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको भव्य शालिक ऐतिहासिक महत्व दर्शाउने गरि राज्यकै लगानीमा पुनःस्थापनाका लागि माग गरिएको छ । विभिन्न बहानामा सम्बन्धित निकायहरु सो विषयमा गैरजिम्मेबार बने वा आलटाल गरि विलम्ब गरिएमा आन्दोलन चर्किने चेतावनी समेत दिइएको छ ।

आन्दोलनका समयमा भएका क्षतिको जवाफदेहि पोखरा महानगर नै हुनुपर्ने विषयलाई समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । इतिहास, राष्ट्रनिर्माता तथा राष्ट्रिय सरोकारका गम्भीर विषयमा प्रशासन तथा सरकार मुकदर्शक बन्न नमिल्ने र यथाशिघ्र पृथ्वीनारायण शाहको शालिक पुनःस्थापनामा गम्भिर बन्न समेत आग्रह गरिएको छ ।

२०३३ भाद्र ३१ गते पृथ्वीचोकमा राष्ट्रनिर्माता पृथ्वीनारायणशाहको शालिक श्री ५ वीरेन्द्र वीर विक्रम शाहद्वारा अनावरण गरिएको थियो । पृथ्वीनारायण शाहको सम्मान र इतिहासको संरक्षणका लागि पृथ्वीचोकमा स्थापित शालिक पोखराको पहिचान बनिसकेको र पहिचान मेटाउने काम शैय नभएको तर्क संयोजक सिरोज विजय कोइरालाको छ । उनले पोखरालाई चिनेका वा पोखरा पुगेका हरेक नेपालीको मनमनमा बसेको पृथ्वीचोकको नाम र राष्ट्रनिर्माताको शालिक एकाएक विवादमा ल्याउने प्रयास भैरहेको उल्लेख गरे ।

हाल लखन थापाको शालिक रहेको चोकलाई सबैले पृथ्वीचोक नै भनेर चिन्ने भएकाले सो स्थानमा पृथ्वीनारायण शाहको शालिक हुनुपर्ने माग उनको छ । पृथ्वीचोकमा प्रथम शहिद लखन थापाको शालिक राखेर पछिल्लो समय भएका घटनाक्रमले उल्टो अपमान भएको भनाई कोइरालाको छ ।

सचिव अर्जुन खनालले इतिहास कसैको रहरले बन्ने र कसैको करले मेटिने कुरा नभएको उल्लेख गरेका छन् । नयाँ इतिहास निर्माणका लागि पुरानो इतिहासलाई भत्काउने र मेटाउने परिपाटीले कुनै पनि इतिहासको सम्मान र संरक्षण नहुने हुँदा पृथ्वीचोकमा पृथ्वीनारायण शाहको नै शालिक पुनःस्थापनाको माग गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा संयोजक सिरोज विजय कोइराला, सचिव अर्जुन खनाल, प्रमुख सल्लाहकार प्रा.डा.दिलबहादुर क्षेत्री, सल्लाहकार खिमबहादुर शाही, सह—संयोजक शेर बहादुर ठकुरी, नारायण गुरुङ, गणेश बहादुर पौडेल क्षेत्री, प्रवक्ता अरुण गिरी, कोषाध्यक्ष तोत्र बहादुर बानियाँ, सह—सचिव, अभिमन्यू पाण्डे (विक्रम) लगायतको हस्ताक्षर छ ।

Leave A Reply

Your email address will not be published.