काठमाडौं :
नेपाली फिल्म नगरीमा कुनै समयकी एकछत्र राज गरेकी अभिनेत्री हुन् पूजा चन्द । उनी विगत १९ वर्षदेखि अमेरिकालाई कर्मथलो बनाउनदै आएकी छन् । अब भने उनी नेपाली फिल्ममा पुनरागमन गर्ने सोचमा रहेकी छन्। झण्डै दुई दशक नेपाली फिल्मबाट दुरी टाढा बनाएकी पूजा अब नेपाली फिल्ममा फर्कने तयारीमा छिन्।
उनी निर्देशक विनोद पौडेलको दोस्रो फिल्म ‘भूठान’ (द वर्ल्डस् ह्याप्पिएस्ट म्यान)बाट अभिनयमा फर्किन लागेकी हुन्। यसै फिल्मको अहिले वर्कसपमा उनी व्यस्त रहेको सामाजिक सञ्जालमार्फतका फोटोहरुले जनाइरहेका छन्।उनी अमेरिकास्थित ओहायोको एक्रोन शहरमा फिल्मको वर्कसप गरिरहेकी छन् । उनको यो पहिलोपटक वर्कसपको अनुभव हो।
एक मिडियासँगको अन्तरबार्तामा यस अघि कहिल्यै पनि आफुले वर्कसप नगरेको र अहिले नयाँ अनुभव भएको बताएकी छन्। उनी भन्छिन,‘मैले फिल्मी करिअरमा कहिल्यै वर्कसप भन्ने गरेको थिइनँ । यहाँ मैले यो नयाँ कुरा सिक्ने मौका पाएँ । यो मेरो लागि एकदमै फरक अनुभव हो ।’
पूजाले पछिल्लो २० वर्ष अघि प्रदर्शनमा आएको फिल्म ‘मनको टुक्रा’मा अभिनय गरेकी थिइन्। त्यस यता उनले फिल्ममा काम गरेकी छैनन्। उनको अभिनय रहने पछिल्लो फिल्म ‘भूठान’को यसै साताबाट अमेरिकामा सुटिङ भइरहेको छ।