काठमाडौं :
चार हप्ताअघि छायाङ्कनमा निस्केको फिल्म ‘पुजार सार्की’ युनिटले गीतको भिडियो खिचेपछि प्याकअप भएको छ। ४८औँ दिनमा फिल्ममा समावेश ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको दृश्य खिचेसँगै फिल्मको छायांकन सकिएको हो।
निर्देशक दिनेश राउतका अनुसार फिल्मका मुख्यकलाकारहरूको नाच खिचेपछि काठमाडौं हिडेका हुन्। यस गीतमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बुले नृत्य प्रस्तुत गरेका छन् ।
दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ फिल्ममा आउन लागेको खबर बाहिरिएदेखि नै ’पुजार सार्की’ चर्चामा रहँदै आएको थियो। अब भने यो फिल्मको गीत नै सार्वजनिक भएपछि के होला त्यतिबेला नै थाहा हुनेछ। यस फिल्मका अन्य कलाकारहरुमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ ।
कास्कीको पोखरा नजिकै पर्ने कास्कीकोट गाउँ र आसपास छायाङ्कन गरिएको यो फिल्मका लेखक विकास सुवेदी हुन्। फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् भने फिल्ममा समावेश संगीत उनैले तयार गरेका छन् । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् । प्रकाश सपूत, शान्ति श्री परियार र केतन क्षेत्रीले गीतमा स्वर दिएका छन् ।
राजेश श्रेष्ठको डिओपी रहने ’पुजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गर्नेछन् भने साउण्ड डिजाइन उत्तम न्यौपानेको छ। यसअघि लेखक विकास र निर्देशक दिनेशले फिल्म ’प्रकाश’मा सहकार्य गरेका थिए । उनीहरुको यो दोस्रो सहकार्य हो।