काठमाडौं :
आगामी कात्तिक १५ गते लक्ष्मीपूजाको छेको पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सार्वनिक गरेको हो।
सार्वजनिक टिजरमा फिल्मका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन्।गरिवका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र विछोडको पीडा टिजरमा समेटिएको छ। बाउछोराको कथालाई निर्माण टिमले वुवाको मुख हेर्ने अघिल्लो दिन सम्पूर्ण बुवाहरूप्रति समर्पित टिजर सार्वजनिक गरेको बुझ्न सकिन्छ। प्रकाश एसएलसीमा जिल्लाकै प्रथम भएको खुसी बुवालाई सुनाउँदै सुरु हुन्छ। त्यसपछि विजय आफूले दुःख गरेर छोरालाई पढाएको सम्झिन्छन्।
आफ्नो स्टकोट काटेर छोरालाई भोटो सिलाएको, काँधमा बोकेर स्कुल पुर्याउने गरेको, अरुको घरघरमा पुगेर सारङ्गी गाउँदै हिँडेर छोरालाई पढाएको, आफूले गाउँ छोड्न नपाए पनि छोरो सहर गएर सफलता पाओस भनेर कल्पना गरेको कुरालाई टिजरमार्फत प्रस्तुत गरिएको छ। प्रकाशले सहरबाट फर्किएपछि बुवाले छोडेर गएर सारङ्गी जतनले खोल्दै बुवाले काँधमा बोकेर हिँड्ने गरेको यादहरु सम्झिएका न्। अरुको अगाडि शीर झुकाउनु नपर्नेगरी पढाउने बुवाले गरेको प्रतिबद्धतासँगै टिजर सकिन्छ ।
एक मिनेट ५० सेकेन्ड लामो टिजरले अभिभावकले आफ्नो सन्तानको प्रगति र खुसीका लागि गर्ने त्याग र संघर्ष तथा त्यसले दिने उपलब्धी समेटेको छ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ। सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन्।
फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् भने फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीका अलवा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकालले लगानी गरेका छन्। फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।