काठमाडौं :
कार्तिक १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुर सारङ्गी’ले कमाईमा छलाङ मारिरहेको छ। नेपालमा अहिलेसम्मकै धेरै कमाई गरेको यो फिल्मले अमेरिकामा पनि छलाङ मारेको छ।
वितरण कम्पनी नेपाल इलेभेन इन्टरटेनमेन्टले अमेरिकामा प्रदर्शनको १० दिनसम्मको कलेक्सन कलेक्सन ५ लाख डलर (करिब ६ करोड ७५ लाख रुपैयाँ) पुगेको जानकारी दिएको छ। यो नेपाली फिल्मको अहिलेसम्मकै सर्वाधिक कमाई भएको हो।
वितरक प्याट्रिक सुवेदीले २०० भन्दा धेरै शोबाट फिल्मले उक्त कमाइ गरेको जानकारी दिएका छन्। उनका अनुसार गत शनिबार फिल्मले २२६ शोसहित सर्वाधिक शो पाउने नेपाली फिल्मको कीर्तिमान रचेको हो।
अहिले अमेरिकाभरका ६६ हलमा २०० हाराहारीको शोसहित प्रदर्शनरत छ। नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सास, पेन्सिलभेनिया र ओहायोमा उच्च कमाई गरेको सुवेदीले जानकारी दिएका छन्।
यो फिल्मले नेपालमा भने १८ दिनसम्म झण्डै ३६ करोड ग्रस कलेक्सन गरेको छ। सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुर सारङ्गी’मा विजय बराल,अञ्जना बराईली,प्रकाश सपुत,मुकुन भुसाल लगायतका कलाकारहरुले अभिनय गरेका छन्। यस फिल्मलाई सरोज पौडेलले कथा तथा निर्देशन गरेका हुन् भने विनोद पौडेलको टिमले लगानी गरेको हो।