पोखरा ।
लेखनाथमा पुस ५ गतेदेखि १९ औं संस्करणको लेखनाथ महोत्सव जारी छ । महोत्सवमा उल्लेखिय दर्शकको सहभागिता देखिन्छ । विगतमा जस्तै यसपाली पनि महोत्सव सफल हुनेमा आयोजक लेखनाथ उद्योग बाणिज्य संघ ढुक्क छ । महोत्सव परिसरमा राखिएका स्टलहरुमा कृषि तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा विशेष जोड गरिएको छ । प्रवद्र्धन मात्रै नभई बजारीकरणमा समेत ख्याल राखिएको पाइन्छ । लेखनाथ क्षेत्रमा पर्यटन गतिविधि बढाउन समेत महोत्सव आकर्षण बन्ने विश्वास गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि महोत्सव फलदायी हुने वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा बताउँछन् ।
लेखनाथबासीका लागि पहिचान बनेको लेखनाथ महोत्सवको निरन्तरता र क्रियाशिलताले आज सफलता मिल्दै गएको अभिव्यक्ति उनको छ । महोत्सवमा लोपोन्मुख जातजातिका भेषभुषा तथा रहनसहनको प्रत्यक्ष अवलोकन गर्ने व्यवस्था समेत मिलाइएको उनी बताउँछन् । परम्परागम सामग्रीहरु पनि महोत्सवमा प्रदर्शनीमा राखिएको छ। अटो, शैक्षिक प्रदर्शनी, कृषि, किचन, मेसिनरी, ह्याण्डिक्राफ्ट, गार्मेन्ट, जनरल, फुड एण्ड वेभरेज, डेरी, सूचना तथा प्रविधि, रेष्टुरेण्ट, बैंक तथा वित्तीय संस्थाका स्टलहरु महोत्सव परिसरमा देख्न सकिन्छ ।
महोत्सवमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरुको प्रदर्शनी तथा बिक्री, दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको प्रदर्शनी तथा बिक्री, विद्युतीय उपकरणहरुको प्रदर्शनी तथा बिक्री भइरहेको ओझाको भनाई छ । महोत्सवमा सूचना प्रविधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधिहरु पनि प्रदर्शनी हुन्छन् । फुड फेष्टिवल, अटोमोबाइल प्रदर्शनी, वित्तीय तथा अन्य सेवामूलक संघसंस्थाको सेवा तथा जानकारी पनि महोत्सवमा रहनेछन् । विभिन्न सांस्कृतिक कार्यक्रम महोत्सवमा संचालन हुन्छन् । रत्यौली गीत प्रतियोगिता, लोक गीत, कन्सर्टबाट दर्शकले मनोरञ्जन लिनसक्नुहुनेछ ।
उनका अनुसार समग्रमा भन्नुपर्दा लेखनाथ क्षेत्र, पोखरा र गण्डकी प्रदेशसहित देशको आर्थिक गतिविधि चलायमान बनाउन महोत्सवको योगदान महत्वपूर्ण हुनेछ । यो पहिचान आगामी दिनमा अझ बढ्दैजाने छ । यस पटकको महोत्सव विगतमा भन्दा पनि अझै बढी उत्कृष्ट हुनेमा हामी आशावादीमा ओझा छन । महोत्सवको उद्घाटन भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । आगामी दिनमा पनि त्यस्तै आकर्षण कायम रहने अपेक्षा उनको छ ।