पोखरा :
साहसिक पर्यटनका लागि परिचित पोखरा मा मनोरञ्जन क्षेत्रमा नयाँ आयाम थपिएको छ। राजेश हमाल ले अत्याधुनिक १८डी सिनेमा औपचारिक रूपमा उद्घाटन गरेका छन्।
फ्लाइ नेपाल इन्टरटेनमेन्टकाले सञ्चालनमा ल्याएको यो सिनेमा लेकसाइडस्थित डिज्नील्याण्ड क्षेत्रमा स्थापना गरिएको हो। नेपालमै पहिलोपटक यस्तो प्रविधिसहितको अनुभव दिने दाबी गरिएको यस सिनेमाको पहिलो शाखा काठमाडौंमा सञ्चालनमा छ भने पोखरा दोस्रो शाखा हो।
उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै हमालले पोखराले अब फरक किसिमको सिनेमाटिक अनुभव पाउने बताए। “पोखरा आफैंमा सुन्दर सहर हो, यहाँ धेरै चलचित्र छायांकन हुन्छन्। अब यो सिनेमा केवल मनोरञ्जन मात्र नभई नयाँ संसारको अनुभव हो,” उनले भने। साथै, उनले आफ्नो करियरको तेस्रो फिल्म ‘देउकी’को छायांकन पोखरामै भएको सम्झना पनि गरेका थिए।
कम्पनीका प्रमुख राम थापाका अनुसार काठमाडौंमा सफल सञ्चालनपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदै सेवा विस्तार गरिएको हो। उनले पोखरामा प्रयोग गरिएको प्रविधि अझ उन्नत रहेको दाबी गरे।
यस १८डी सिनेमामा १० देखि ३० मिनेटसम्मका १७ वटा फरक कथात्मक अनुभव समेटिएका छन्, जहाँ दर्शकले बिना चश्मा वा हेडसेट नै रोमाञ्चक अनुभूति लिन सक्नेछन्। सबै उमेर समूहका दर्शकलाई लक्षित गरिएको यो प्रणालीले भित्री मनोरञ्जनमा नयाँ विकल्प दिने अपेक्षा गरिएको छ।
कम्पनीका निर्देशक हिमाल थापाले पोखरामा यस्तो सिनेमा सञ्चालनले साहसिक अनुभवलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे। कार्यक्रममा हमालले उद्यमशीलतामा राज्यले थप प्रोत्साहन दिनुपर्ने र रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने धारणा पनि राखे।
फोटो : अनुप भट्टराई