सुचना, समाचार र मनोरन्जन

गायक राजु लामाद्वारा ओसियानाको सर्वोच्च शिखर कार्सटेन्ज पिरामिड आरोहण

काठमाडौं :

गायक तथा पर्वतारोही राजु लामाले ओसियाना महादेशको सर्वोच्च शिखर कार्सटेन्ज पिरामिड (पुनसाक जया) सफलतापूर्वक आरोहण गरेका छन्। उनले वातावरण संरक्षणको सन्देशसहित विश्वका सात अग्ला शिखरमध्ये एक यो पर्वतमा नेपालको राष्ट्रिय ध्वजा फहराएका हुन्।

२२ अक्टोबरको बिहान ७ बजेर ४० मिनेटमा उनले ४ हजार ८८४ मिटर अग्लो शिखरमा पाइला टेक्दै चुचुरोमा नेपालको झन्डा र बौद्ध मन्त्र फर्फराएका थिए। पर्वतारोहणको क्रममा उनले आफ्ना संगीतप्रेमी प्रशंसक र आफ्नो ब्याण्ड ‘मंगोलियन हार्ट’ लाई पनि सम्झिएका छन्।

कार्सटेन्ज पिरामिड इन्डोनेसियाको पापुआ क्षेत्रमा अवस्थित ओसियानाको सबैभन्दा अग्लो पहाड हो। यो विश्वप्रसिद्ध ‘सेभेन समिट्स’ (प्रत्येक महादेशको एक–एक सर्वोच्च शिखर) मध्ये एक हो। यहाँ रहेका स्थायी हिमनदीहरू अहिले जलवायु परिवर्तनका कारण तीव्र गतिमा संकुचित भइरहेका छन्।

राजु लामाले यसअघि पनि सगरमाथा आरोहण गरी वातावरणीय सन्देश दिएका थिए। मुस्ताङ लगायतका उच्च हिमाली क्षेत्रमा उनले भोटे पिपलका बिरुवा रोपेर हरियाली अभियान सञ्चालन गरेका थिए।

पर्वतारोहणको सफलतासँगै उनले नयाँ गीत ल्याउने प्रतिबद्धता व्यक्त गर्दै लेखेका छन्, “संगीत मेरो आत्मा हो, सगरमाथादेखि कार्सटेन्जसम्म म यही सन्देश लिएर गएको हुँ।”

हाल गायक लामा टेलिभिजन गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ मा कोचको रूपमा व्यस्त छन्। यो सिजनमा उनी पुनः शोमा फर्किएका हुन्।

Leave A Reply

Your email address will not be published.