शुभप्रभात,
२०८२ कार्तिक १५ गते शनिवार, कार्तिक शुक्लपक्ष एकादशी तिथि। शतभिषा नक्षत्र, १४ः४३ बजेदेखि पूर्वभाद्रपदा। चन्द्रराशि कुम्भ।
मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ। विशेष सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहे पनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। प्रतिफल हातपार्न केही समय लाग्नेछ।
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन्। पछिका लागि लगानी बढाउन सकिनेछ। चिताएको काम बन्नेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ। नयाँ अवसर प्राप्त भए पनि पुरानै काममा अलमल हुनेछ। मेसो नमिल्दा पनि पछि परिनेछ, समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेत परे पनि काम बन्नेछ। जिम्मेवारी थपिन सक्छ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। थाेरै उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्ने समय छ। यात्रा कष्टपूर्ण हुनेछ र अरूको विश्वास गर्दा आफ्नो काम रोकिन सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। नतिजा कमजोर देखिनाले पहिलेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साथीभाइको आगमनले आजकाे दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन्। व्यवसायको सन्दर्भमा यात्राको अवसर जुट्नेछ।
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर प्राप्त भए पनि फाइदा उठाउन कुनै न कुनै चुनौतीसँग जुध्नुपर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ।
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
विशेष अवसरका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। गुरुजनकाे साथ–सहयाेग जुट्नेछ। शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। नयाँ अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलकाे बेला मान्यजनको सहयाेग लाभदायी रहनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्, सजग रहनुहाेला।
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिवश चिताएको काम पूरा गर्न नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा सामान्य फाइदा हुनेछ, तर अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नभए पनि हिसाबकिताबमा होसियार रहनुहोला।
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
आफन्तकाे आगमन तथा रमाइलाे भेटघाट हुने समय छ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा पनि आकर्षण ल्याउनेछ।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। आर्थिक प्रलोभन देखाउनेहरूबाट भने सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।
सबैको दिन शुभ रहोस….