सुचना, समाचार र मनोरन्जन
Sarangi

राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा, गोलाप्रथाद्वारा दर्शकलाई स्कुटर उपहार

मेलाको प्रवेश टिकटमा दैनिक आकर्षक पुरस्कारको व्यवस्था गरिएको र प्रवेश टिकटको अर्धकट्टीकै आधारमा अवलोकनकर्ताले गोलाप्रथाद्वारा एउटा स्कुटर पाप्त गर्ने जनाइएको छ ।

सन्तोष बस्याल
पोखरा ।

‘लगानीको संवद्र्धन : उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नारासहित २१ मंसिरदेखि पोखरामा हुने समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को तयारी पूरा भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको तयारी पूरा भएको आयोजक संस्था पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले जानकारी दिए । महोत्सव नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुँदैछ ।

मेलाको ९३ प्रतिशत तयारी सम्पन्न भएको अध्यक्ष प्रजापतिले बताए । उनका अनुसार मेला सम्पन्न गर्न नेपाल उद्योग बाणिज्य महासंघका मेला समितिका सभापति उमेश धमलाको संयोजकत्वमा २०१ सदस्यीय मुल आयोजक कार्य सम्पादन समिति गठन गरिएको छ ।

मेलाको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उदघाटन गर्नेछन् । उदघाटन अघि मंसिर २१ ग्ते बिहान गैह्रापाटनबाट प्रदर्शनी केन्द्रसम्म प्रभातफेरी कार्यक्रमको समेत आयोजना गरिएको छ । प्रभातफेरीमा विभिन्न आमा समूह, टोल विकास संस्था, सामाजिक संघसंस्थाहरुको सहभागिता रहने जनाइएको छ ।

मेलामा डोमतर्फ ५४, अटोका ५० र अन्य विभिन्न खालका १४६ गरी २५० स्टल रहनेछ ।

पुस १ गतेसम्म चल्ने मेलामा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाको गतिविधिको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, लत्ताकपडा, शृंगारका सामानहरूको बिक्री–वितरणसँगै लोकदोहोरी, बालउद्यान साथमा स्थापित हास्यकलाकारद्वारा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिने अध्यक्ष प्रजापतिले बताए ।

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा उद्योग पर्यटन एवम् वन तथा वातावरण मन्त्रालयसंँगको सहकार्यमा मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका महिला उद्यमीहरुको उत्पादनको प्रदर्शन र प्रवद्र्धनका लागि स्टलको विशेष व्यवस्था गरिएको उनले बताए । महिला उद्यमशिलता विकासकै लागि मेला परिसरमा हस्तकलाका सामग्री बनाउने तालिमका साथै स्वरोजगार हुन चाहने महिलाहरुका लागि आवश्यक पर्ने मेसिनरी सामानहरुको प्रदर्शनीको पनि व्यवस्था मिलाइएको छ ।

संघका महासचिव बलराम आचार्यका अनुसार मेला प्रवेशका लागि सर्वसाधारणका लागि एक सय रुपैयाँ र विद्यार्थीका लागि ६० रुपैयाँ प्रवेश शुल्क कायम गरिएको छ । ज्येष्ठ नागरिक र अपांगता भएकालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले जानकारी दिए । प्रतिप्रवेश टिकटमा जाजरकोट भूकम्पपीडितका लागि १० र विद्यार्थीको टिकटबाट पाँच रुपैयाँ छुट्याइने आचार्यले जानकारी दिए । मेलाको प्रवेश टिकटमा दैनिक आकर्षक पुरस्कारको व्यवस्था गरिएको र प्रवेश टिकटको अर्धकट्टीकै आधारमा अवलोकनकर्ताले गोलाप्रथाद्वारा एउटा स्कुटर पाप्त गर्ने जनाइएको छ ।

मेलाबाट अनुमानित ९० लाख आम्दानी गर्ने र खर्च ८० लाख भई १० लाख रुपैयाँ बचत हुने लक्ष्य लिइएको उपाध्यक्ष गोकर्ण कार्कीले बताए । मेलाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभवृद्धिको लागि खर्च गरिने भनाई उनको छ ।

यसअघि नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ लगायत अन्य संघसंस्थाहरुसँग मिलेर संघको आयोजनामा औद्योगिक व्यापार मेला २०४२ र २०४९, पोखरा महोत्सव २०५२, हस्तकला मेला २०५३, पुष्प प्रदर्शनी २०५५, हस्तकला तथा पुष्प मेला २०५६, पश्चिमाञ्चल औद्योगिक व्यापार मेला २०५९, औद्योगिक व्यापार मेला २०६१, राष्ट्रिय शैक्षिक मेला पोखरा २०६२, महिला उद्यमी मेला २०६८,२०७० र २०७४ तथा राष्ट्रिय औद्योगिक व्यापार मेला २०६३ देखि निरन्तर रुपमा आयोजना गरिएको छ ।

Leave A Reply

Your email address will not be published.