काठमाडौं :
फिल्म ‘ह्रस्व दीर्घ’को अहिले चौंथो सेड्युलको छायांकन धमाधम भैरहेको छ । निर्माण टिमले सानेपाको एक क्लवमा फिल्मको सुटिङ गरिएको हो। निर्माण पक्षका अनुसार सोमबार अबको ४ दिनसम्म यो फिल्मको सुटिङ काठमाडौंका विभिन्न स्थानमा गरिने छ।
चन्द्र पन्तको डेव्यु निर्देशनमा निर्माण भइरहेको फिल्मको यो अन्तिम चरणको सेड्युल हो। पत्रकारसँगको कुराकानीमा उनले भने,‘यो सिनेमाको अन्तिम सेड्युल हो । ४ दिनमा सिनेमाको सम्पुर्ण छायांकन सकिनेछ । त्यसपछि हामी पुर्ण रुपमा सिनेमाको प्रचार प्रसार तथा पोष्ट प्रोडक्सनको काममा लाग्ने छौं।’
निर्माण टिमले फिल्मको बारेमा जानकारी दिनका लागि सोमबार ललितपुरस्थित इन्टरनेशनल क्लब पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो। फिल्मकी निर्मात्री समेत रहेकी अभिनेत्री नीता ढुंगानाले बलिउड फिल्म ‘गजनी’ भिलेन प्रदीप रावत र दक्षिण भारतीय सिनेमा ‘पुष्पा’को भिलेन सुनिल वर्माको पार्टको छायांकन गरिरहेको जानकारी दिइन्। उनले भनिन्,‘उहाँहरु छायांकनको लागि नेपाल आएको बेला मिडियासँग पनि साक्षात्कार गरौं भन्ने उद्देश्यले पनि पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको हो।’
नीताले यो फिल्मका लागि नेपाली कलाकारहरुलाई राख्ने सोच रहेको र कुराकानी गर्दा आफुलाई समय नदिएको समेत गुनासो गरिन्। उनले नेपाली फिल्मका कलाकारले समय नदिएपछि भारतिय कलाकारलाई फिल्ममा भित्राउनु परेको दुखेको पोखेकी थिइन्।
बलिउड फिल्म ‘गजनी’ भिलेन प्रदीप रावतले आफुले फिल्म अभिनेत्री नीता ढुंगानाको पिताको भुमिकामा अभिनय गर्न लागेको बताए । यसअघि भोजपुरी फिल्म ‘माही’मा पनि नीतासँग स्क्रिन सेयर गरेको स्मरण गर्दै नीता राम्रो कलाकारसँगै निर्माता समेत रहेको अनुभव सुनाए । निर्देशक चन्द्र पन्तलाई नेपाली फिल्मको कोहीनुर भन्दै स्टन्ट मास्टरबाट निर्देशक बन्दासम्मको यात्रालाई प्रदीपले पत्रकार सामु प्रस्तुत गरेका थिए।
यस्तै, दक्षिण भारतीय फिल्म ‘पुष्पा’का भिलेन सुनील वर्माले पनि नेपाली सिनेमामा अभिनय गर्न पाउँदा खुशी लागेको बताए । फिल्मको स्कृप्ट अनुसार फिल्म पनि उत्कृष्ट बन्ने विश्वास रहेको भन्दै यो फिल्मले नेपाली फिल्मलाई भारतीय सिनेमा उद्योगसँग जोड्ने पुलको काम गर्ने बताए । साथै, ‘ह्रस्व दीर्घ’ नेपालको पहिलो प्यान इन्डिया फिल्म भएकाले यसलाई भारतीय दर्शकमाझ लैजान उत्साहित रहेको सुनाए।
नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन्। फिल्ममा नीता, हरिहर, प्रदीप र सुनीलका अलवा ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चिता लुँईटेल, विपना थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो फिल्म रिलिज हुनेछ । आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।