काठमाडौं :
एक वर्षअघिसम्म अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माबीच सम्बन्ध राम्रो थिएन। पल नाबालिका बलात्कार आरोपमा कारागार चलान भएपछि पूजा शर्माले उनी निर्दोष रहेको बताईन्। पललाई भेट्न कारागार नै पुगिन्। पछि अदालतमा नाबालिकाले बयान फेरेर कारागारबाट बाहिरिएपछि पल र पूजाबीच बोलचाल बन्द भयो। उनीहरुबीच मन मुटाव भयो।
पूजाको टिमले फिल्म ‘रावायण’का लागि पल छाडेर अनमोल केसीलाई अनुबन्ध गरे। पलले पेस्की लिएर पनि फिल्ममा काम गर्दिन भनेपछि अन्तत लफडा लामै भयो। त्यसपछि फिल्म बिहिन बनेका पललाई निर्माण टिमले फिल्मका लागि लियो। पल खेल्न तयार पनि भए। यो फिल्ममा अभिनेता पल शाह दोहोरो भुमिकामा देखिएका छन्। शुक्रबार आगामी भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’को टिजर सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो ।
टिजरमा फिल्मका अभिनेता शाहको एक्सनलाई प्राथमिकता दिइएको छ। टिजरमा अधिकांश दृश्यमा द्वन्द्वलाई स्थान दिइएको छ । दाह«ी र जुँगाको गेटअपमा देखिएका पलले खलपात्रसँग गरेको द्वन्द्वलाई टिजरमा प्राथमिकतामा राखिएको देऋन सकिन्छछ।फिल्ममा भिलेन चरित्रमा देखिएका प्रमोद अग्रहरि, प्रकाश शाह, प्रदीप ढकाललाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको छ। टिजरमा नायिका पुजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक पनि फिचर्ड छन्।
प्रेमकथाका फिल्म निर्माणमा अब्बल मानिएका निर्देशक सुदर्शन थापा फिल्म ‘रावायण’का निर्देशक हुन् । उनले आफूले जति बोले पनि आफ्नो ‘भिजन’ फिल्मको टिजरमा देखिएको बताए।
‘अहिले टिजरमा मात्र देखिएको छ । दर्शकले पछि फिल्ममा अझ बढी हेर्न पाउनुहुनेछ’, उनले भने, ‘यो फिल्म मेरा लागि चुनौतिपूर्ण थियो । मैले यो फिल्ममार्फत आफूलाई परिवर्तन गर्ने कोशिस गरेको छु ।’
नायक पल शाहले आफ्नो रोमान्टिक छविलाई पर्दामा हेरिरहनु भएका दर्शकका लागि ‘रावायण’को चरित्र नयाँ स्वाद हुने बताए । उनले फिल्ममा आफ्नो दोहोरो भूमिका रहेको खुलाए ।
‘मेरो लागि यो चरित्र नयाँ हो । फिल्ममा मैले कान्छा र रागव नामका दुई चरित्र निर्वाह गरेको छु । एउटा चरित्र पोजेटिभ र अर्को नेगेटिभ हुन्छ’, उनले भने, ‘फिल्ममा मेरा लागि नेगेटिभ पार्ट चुनौतिपूर्ण थियो । जुन ट्रेलरमा देखिएको छ ।’
फिल्मकी नायिका तथा निर्मात्री पूजा शर्माले अब रोएर फिल्म नचल्नेमा आफू ढुक्क रहेको बताइन् । ‘अब रोएर फिल्म चल्दैन । टिमको राम्रो साथ पाइयो भने मात्र फिल्म चल्ने रहेछ’, उनले भनिन् ।
कलाकार प्रमोद अग्रहरिले दर्शकले ‘रावायण’बाट आफ्नो चरित्र र कथावस्तुमा नयाँ स्वाद पाउने दाबी गरे । अर्का कलाकार प्रकाश शाहले आफ्ना लागि फिल्मको पात्र चुनौतीपूर्ण रहेको बताए। फिल्मका निर्देशक सुदर्शन थापा हुन् । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन्।
फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन्। फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, रोजिता पराजुलीलगायतको अभिनय छ।
फिल्ममा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गुञ्जवाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द,विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर र विजय बस्यालको पोस्टर डिजाइन छ। फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ।