काठमाडौं :
छायांकनरत नेपाली चलचित्र ‘फ्रेन्च किस’मा सुपरस्टार अभिनेत्री रेखा थापा आबद्ध भएकी छन्। निर्माणपक्षले अभिनेत्री रेखालाई चलचित्रमा अनुबन्ध गरेको हो।
केही दिनदेखि चितवनका विभिन्न स्थानमा छायांकन भइरहेको नयाँ पुस्ताको प्रेमकथामा आधारित चलचित्र ‘फ्रेन्च किस’मा रेखाको प्रवेशसँगै चलचित्र थप सशक्त, आकर्षक र प्रतिक्षित बन्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।
चलचित्रकी कलाकार रेखा थापाको इन्ट्रीबारे जानकारी दिँदै कार्यकारी निर्माता सौगात बस्नेतले लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी रेखाको अनुभव, लोकप्रियता र स्टारडमले चलचित्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा रहेको बताए।
“रेखा थापा आफ्नो दमदार अभिनय, प्रभावशाली उपस्थिती र दर्शकमाझको लोकप्रियताका कारण परिचित हुनुहुन्छ,” बस्नेतले भने, “उहाँको प्रवेशसँगै ‘फ्रेन्च किस’ थप सशक्त बन्ने विश्वास छ। विभिन्न सफल चलचित्रमार्फत उहाँले स्थापित गरिसक्नुभएको पहिचानलाई अब नयाँ पुस्ताको प्रेमकथामा फरक ढंगले प्रस्तुत गरिनेछ।”
उनका अनुसार रेखाको अनुभव र स्टारडमले चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत विशेष चर्चा दिलाउने अपेक्षा गरिएको छ। निर्माण टिमले ‘फ्रेन्च किस’लाई नयाँ पुस्ताको स्वादअनुसार आधुनिक प्रेमकथाका रूपमा निर्माण गरिने बताउँदै दर्शकले फरक र समसामयिक प्रेमकथा अनुभव गर्न पाउने जनाएको छ।
ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रलाई अभिनेता समेत रहेका अर्पण थापाले निर्देशन गरिरहेका छन्। चलचित्रमा अर्पण स्वयं र ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा छन् भने अभिनेत्री गौरी मल्ल पनि प्रमुख भूमिकामै देखिनेछिन्।
चलचित्रका कार्यकारी निर्माता सौगात बस्नेत र सह–निर्माता सुभाष बी. शाही हुन्। सुदीप बरालको सिनेमेटोग्राफी रहने चलचित्रमा संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यले दिनेछन्।
रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले पब्लिसिटी डिजाइनको जिम्मेवारी लिएको चलचित्र ‘फ्रेन्च किस’ सन् २०२६ भित्र प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ।
