काठमाडौं :
फागुन २५ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘उपहार’को खुबै चर्चा छ। फिल्मको पोस्टरदेखि ट्रेलरसम्मले चर्चा पाएको छ। यो फिल्मलाई शुभकामना र बधाई दिनेको ओइरो लागि रहेको अवस्थामा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद सुनील शर्माले समेत फिल्मको चर्चा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत फिल्म ‘उपहार’ले नेपाली फिल्मको उचाई अझ माथि पु¥याउने बताएका छन्।
शुक्रबार सार्वजनिक भएको ट्रेलर हेरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा ट्रेलर शेयर गर्दै स्टाटस लेखेका हुन्। उनले रेखाको तारिफ गर्दै लेखेका छन्,‘नेपाली सिनेजगतकी सुपरस्टार चर्चित अभिनेत्री महिला नेतृ बहिनी रेखा थापा टिमको फागुन २५ गते शिवरात्रीको दिन चलचित्र ‘उपहार’ प्रदर्शनमा आँउदैछ । सोहि अनुरुप फिल्मको ट्रेलर सार्वजनिक भयो, हेरियो । निक्कै कौतुहलता जगाउने ट्रेलर हेरेपछि पक्कै पनि यो फिल्मबाट रेखा र टिमले नेपाली चलचित्रको हाईट अझै माथि पुर्याउने आशा एवम् विस्वास राखेको छ।’
उनले अभिनेत्री रेखा थापालाई नेतृत्वदायी भूमिका निभाउन सक्ने, हक्की, निडर र महिला दिदीबहिनीहरुको पीर भावना बुझ्न सक्ने क्षमतावान नारीका रुपमा आफूले चिनेको उल्लेख गरेका छन् ।
‘रेखा म निर्वाचित मोरङ क्षेत्र नम्बर ३ को विराटचोक निवासी चेली पनि हुन् । उनी नेतृत्वदायी भुमिका निभाउन सक्ने, हक्की, निडर र महिला दिदीबहिनीहरुको पिर भावना बुझ्न सक्ने क्षमतावान नारी हुन् । बहिनीलाई मेरो साथ सहयोग र शुभेच्छा सधै रहने छ । सहकार्य रहने छ । बहिनी रेखा तथा सिंगो उपहार टिमलाई बधाई तथा शुभकामना,’ उनले लेखेका छन् ।
ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको शुक्रबार सार्वजनिक ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ । खास गरी बाटोमा व्यापार गर्ने सर्वसाधारणको व्यापारलाई नगर प्रहरीले उठाएर लगेपछिको तनावलाई पनि ट्रेलरमा स्थान दिइएको छ ।
अभिनेत्री रेखा थापालाई चिया बेच्ने महिलाको रुपमा प्रस्तुत गरिएको ट्रेलरमा अभिनेता मुकुन भुषाललाई ट्याक्सी ड्राइभरका रुपमा देखाइएको छ ।ट्रेलरका अधिकांश दृश्यमा कमेडीलाई स्थान दिइएको छ । फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । रेखा फिल्मस् र कपनगढी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।