पोखरा ।
पोखराको पर्यटन प्रवद्र्धन गर्न अङ्गे्रजी नयाँ वर्षमा ‘स्ट्रिट फुड फेस्टिभल’ कार्यक्रमको आयोजना गर्ने गरिने भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) को आयोजनामा यहीँ पुस १२ गतेदेखि पुस १६ गतेसम्म ४ दिन सडक महोत्सवको हुने भएको हो । अङ्ग्रेजी नयाँ वर्षको स्वागतका लागि यस्तो महोत्वसवको आयोजना गर्न लागिएको रेवानले जनाएको छ ।
पोखराको पर्यटन प्रवर्द्धनमा एउटा बेग्लै पहिचान बनाउन सफल यस महोत्सवले विगतका वर्षहरूमा राजनैतिक अस्थिरता, भूकम्प, नाकाबन्दी र कोरोना महामारी लगायत थुप्रै आरोह अवरोहको सामना गरेर पनि महोत्सवलाई निरन्तरता दिँदै आएको आयोजक पक्षले बताएको छ । थप यसवर्ष पोखरा स्ट्रिट फेस्टिभलले २५ औँ वर्ष पुरा गरेको अवसरमा महोत्सवको रजत जयन्ती विशेष रूपमा महोत्सवलाई भव्य बनाइने रेवानका अध्यक्ष नरेश भट्टराईले बताए ।
महोत्सव २०८० पौष १२ गतेदेखि १६ गते सम्म पोखराको लेक साइडमा चल्नेछ । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने मूल नारासहित आयोजना हुने यस महोत्सव पोखराको लेक साइडसम्मको करिब ३ किमी क्षेत्रमा आयोजना हुनेछ ।
महोत्सवको मुख्य आकर्षणको रूपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेसभुसा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, बेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुच, पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रीकृत गरी टक सो कार्यक्रम, स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृर्ष, वनस्पति लगायतका कृर्षि उपजहरूको प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
यसैगरी मेलामा बालबालिकाहरूका लागि चित्रकला र पोखराका विभिन्न साहसिक खेलकुदहरूको डकुमेन्टी प्रदर्शनका साथै पर्यटकीय गन्तव्यको प्रवर्द्धन, महोत्सव क्षेत्रमा सञ्चालन गर्दै आएका व्यवसायीहरूले सडक महोत्सवको अवधारणा अनुरूप सोही व्यवसाय निर्धारित पसल अगाडी ल्याएर सजावटका साथ व्यवसाय प्रवर्द्धन गरिने जानकारी समेत रेवानले दिएको छ ।
यस्तो खालको फेस्टिभलले आन्तरिक मात्र नभएर बाह्य पर्यटक समेत आकर्षित हुने र पर्यटन प्रवर्द्धन हुने नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले बताए ।