काठमाडौं :
कबड्डी शृखंलाकी मैंया अर्थात् रिश्मा गुरुङ नयाँ फिल्म ‘रिमै’को छायांकनका लागि नेपाल आइपुगेकी छन्। लामो समयदेखि श्रीमानसँग अमेरिकामा बस्दै आएकी रिश्मा फिल्म खेल्नका लागि नेपाल आएकी हुन्।
बिहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिदैगर्दा उनले फिल्मको कथावस्तुले मन छोएपछि आफु काम गर्न तयार भएको बताईन्। उनले फिल्मको कथा मन परेपछि आफु काम गर्न तयार भएर नेपाल आएको बताईन्।
पत्रकारसँगको कुराकानीमा उनले भनिन्,‘म लामो समय पश्चात सिनेमाको पर्दामा फर्किदै छु । लामो त होइन मैले बिचमा ‘क्रसरोड’ नामक फिल्ममा काम गरेकी थिए। त्यो फिल्म अहिलेसम्म पनि प्रदर्शनमा आएको छैन्। त्यसैले गर्दा लामो ग्याप जस्तो देखियो। विशेषगरी ‘रिमै’ गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ ।’
उनले आफ्नो को एक्टर दयाहाङ राई रहेको भन्दै उत्साहित भइन्।
उनले थपिन्,‘अनि फिल्मको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न उत्साहित छु।’
खिल बहादुर गुरुङको निर्देशनमा निर्माण हुन लागेको यो फिल्मलाई बिर बहादुर घलेले निर्माण गर्न लागेका हुन्। फिल्म यहि असोज २८ गतेबाट गोरखाको सिरानचोकबाट छायांकन सुरु गरिने निर्देशक गुरुङले बताए। उनका अनुसार फिल्ममा रिश्मासँगै दयाहाङ राई, सौगात मल्ल, कविता आले र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ।
‘जारी’ र ‘मनसरा’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको लेखन रहेको फिल्म दसैंको घटस्थापनाको दिन औपचारिक रुपमा शुभमुहूर्त गर्दै निर्माणको सुरुवात गरिनेछ।