काठमाडौंँ :
केहि वर्ष अघिसम्म गाउँघरमा एकअर्काको सुखदुखका कुरालाई गीतमार्फ भावना साट्ने गरिन्थ्यो। अझ भनौँ ‘रोधी घर’लाई नेपालीको पहिचानको रुपमा लिन सकिन्छ। विशेष गरेर गुरुङ समुदायबाट भित्रिएको यो संस्कृतिलाई बालकदेखि बृद्धसम्मले गीत मार्फत दुःख बिर्सिने चौतारी भन्ने गरेका छन्।
चौतारीमा पछिल्लो विकासको गतिसँगै रोधी घर ‘दोहोरी साँझ’ रुपान्तर भएका छन्। सोही क्रमसँगै अश्लिलता पनि भित्रिएको छ। त्यसैले कतिपयले यसलाई आलोचना समेत गरिरहेका छन्।
यस्तैमा ‘रोधी घर’ संस्कृतिमै गीतकार विकास घले गुरुङले नयाँ गीत ‘रोधी घर’ स्रोता तथा दर्शकमाझ लिएर आएका छन्।गीत भिडियो सहित अमेरिकाको पेन्सलभेनियमै एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो। एनआरएनए पेन्सलभेनिया च्याप्टरका उपाअध्यक्ष अभिषेक थापा, युनाईटेड गुरुङ सोसाईटी अफ अमेरिकाका अध्यक्ष प्रदीप गुरुङ लगायतले कार्यक्रममा गीतको प्रसंसा गर्दै ‘रोधी घर’ले हराउदै गएको नेपाली कलासंस्कृतिको संरक्षण गरेको जानकारी दिए।
गीतका गीतकार गुरुङले आफु जहाँ रहेपनि नेपाली कलासंस्कृति बिर्सन नसक्ने भन्दै कलासंस्कृतिको जगेर्नाका लागि गीत निर्माण गरेको बताए।दीपक गुरुङ र सोनम गुरुङको स्वर रहेको गीतमा दीपेश लामाको संगीत संयोजन छ । भिडियोको छायांकन पवन गौतमले गरेका हुन्।
गीतमा कुन्ती गुरुङ, सरिता सुनुवार, चक्र गुरुङ, राज गुरुङ र कृष्ण गुरुङको कोरस स्वर सुन्न सकिन्छ। अमेरिकाको बिभिन्न स्थानमा छायांकन गरिएको गीतको भिडियोमा अभिनेत्री रञ्जिता गुरुङ र बिकास घले गुरुङले नाचेका छन्।
रञ्जिता केहि वर्ष अघि अमेरिका बसाईँ सरेकी हुन्। नेपालमा रहेका लोक लयका गीतको मोडल तथा केहि फिल्ममा समेत अभिनय गरेकी रञ्जिताले अन्तत नेपाल छाडेर अमेरिका नै स्थायी बसोबासका लागि पुगेकी थिइन्।उनी अमेरिका रहेता पनि फुर्सदको समयमा अभिनय तथा गीत संगीतको भिडियोमा अभिनय गर्दै आएकी देखिन्छिन्। उनले सोही मौकामा यो गीतको भिडियोमा अभिनय गरेकी छन्।
स्थानिय कलाकार कार्लईस गुरुङको अलवा आमा समुह र ईन्ट्र फाउन्डसनका नृत्य प्रशिक्षार्थीले पनि भिडियोमा नृत्य गरेका छन्। भिडियोको निर्देशक तथा सम्पादन पनि विकास घले गुरुङले नै गरेका हुन् । विकास फिल्म निर्देशक तथा खेलाडी पनि हुन् । गीत रेड ओशियन नामक युट्युबबाट सार्वजनिक भएको हो। अमेरिका पुगेका नेपाली कलाकारहरुले विभिन्न गीतको छायांकन उतै गर्दै आएका छन्।