काठमाडौं :
आगामी असोज ३ गतेबाट प्रदर्शनको तयारी रहेको फिल्म ‘खुस्मा’मा समावेश गीत ‘रुकुम मैकोट’मा पूर्वउपराष्ट्रपती नन्दकिशोर पुन छमछमी नाचेका छन्। शनिबार नेपाल मगर साँस्कृतिक संघ विशेष उपत्यका समितिले आयोजना गरेको खुल्ला मौलिक कौराह (कानराहा) नृत्य प्रतियोगिता कार्यक्रममा पुन नाचेका हुन्।
यो कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पुनले जनयुद्धको परिवेशमा मगर संस्कार र संस्कृति समेटेर निर्माण गरिएको आफ्नो फिल्म हेर्न निम्तो समेत दिएका छन्। सोही क्रममा फिल्मका अभिनेता धिरज मगर,उपासना सिंह ठकुरीले ‘रुकुम मैकोट’ बोलको गीतमा नृत्य गरेका थिए। कलाकारको नाच देखेपछि मञ्चमै उठेर पूर्व उपराष्ट्रपति नन्द किशोर पुनले पनि नाचेका उपस्थित दर्शकलाई मनोरञ्जन दिलाए।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन्। डकुमेन्ट्री फिल्मको लेखन तथा निर्देशन गर्दै आएका उनको यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय फिल्म हो। डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अर्न्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।
विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर निर्माता रहेको यो फिल्मका सहंनिर्माता सुस्मिता बुढाथोकी रहेकी छन्।
दिपक बज्राचार्यले खिचेको यो फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको यो फिल्मको वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मस्ले लिएको छ।