काठमाडौं :
हास्य श्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’को छायांकन थालेको छ। एक हप्ता अघि डोल्पा पुगेको यो टिमले ठूली भेरी नगरपालिकाको दूरगाउँबाट शनिबारदेखि छायांकन सुरु गरेको हो।
५० दिनको सेड्युलमा छायांकन गरिने यो फिल्मको निर्माण टिमले पहिलो चरण डोल्पामा २० दिन र दोस्रो चरणको छायांकन काठमाडौं र अन्य केही जिल्लामा गर्ने तय गरेको छ ।
फिल्मको मुहूर्त सर्ट कलाकार विजय बराल र अर्जुन घिमिरे ‘पाँडे’ले दिएका थिए। जेपीटी क्रिएसनको प्रस्तुति रहने यो फिल्मलाई कुमार कट्टेल ‘जिग्री ब्रो’को लेखन तथा निर्देशन रहने छ।
यस फिल्ममा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकारहरुले अभिनय गर्ने छन्। विजय बराल र अर्जुन घिमिरे अलवा सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, कमलमणी नेपाल (खुपीका बाउ) माला लिम्बु, प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत लगायतका कलाकारको अभिनय रहनेछ।
सुदीप बरालले छायांकन गर्ने यो फिल्मका निर्माता नवीन श्रेष्ठ र सह(निर्माता रामनरेश शाह रहेका छन्। एक महिना अघि काठमाडौंको विग मुभिज्मा एक भव्य कार्यक्रमको आयोजना गरि नाम सार्वजनिक गरिएको थियो। सोही समयमया या फिल्मको प्रदर्शन मिति फागुन १४ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शन गर्ने जानकारी दिइएको थियो। यो टिमबाट दीपकराज आचार्य काकु भने बाहिरिएका छन्। उनी आफै नै फिल्म ‘परान’को निर्देशनमा जुटेका छन्।