सम्पादकीय /
बंगलादेशको राष्ट्रपिता मानिने शेख मुजिबुर्रहमानको सालिकसँगै देशबाट उनको विरासत ढाल्न सफल भएका बागी विद्यार्थीले सन् १९७१ पश्चात पुनः एकपटक बंगलादेश स्वतन्त्र भएको दाबी गर्दै २१ औं शताब्दीमा बंगलादेशी नागरिकका लागि यस स्वतन्त्रता अमूल्य उपहार भएको बताएका छन् । उक्त आन्दोलनका बारेमा अधिकांश गैर बंगलादेशीले निकालेको सार लगभग मिल्दोजुल्दो छ– जुन राष्ट्रका युवा सचेत र हस्तक्षेपकारी हुन्छन् त्यस राष्ट्रका शासक कि नागरिकको पक्षमा हुन्छन् कि शासनसत्ताभन्दा बाहिर हुन्छन् भन्ने सिद्ध गरिदिएका छन् । यस विद्यार्थी आन्दोलनको सन्देश र अर्थ नेपालमा कसले ग्रहण गर्ने ? नेपाली नेताले कि युवाले ? प्रष्ट छ, युवाले ।
बंगलादेशले आफ्नो ५३ वर्षको अफिसियल उमेरभित्र दुईवटा युद्ध लड्यो । एउटा पाकिस्तान युद्ध र अर्को गृहयुद्ध । शेख मुजिबुर्रहमान सन् १९७१ को बंगलादेश स्वतन्त्रता सङ्ग्रामका नायक थिए । सन् १९७५ को अगस्ट महिनामा उनको हत्या भयो । २०२४ को ढाका आन्दोलनमा उनै नायकको विरासत खलनायक भयो र बङ्गबन्धु शेख मुजिबुर्रहमानकी छोरी शेख हसिना वाजेद खलनायिका भइन् । संयोग भन्नुपर्छ, अगस्ट महिनामै शेख हसिना बंगलादेश छोडेर भारतमा शरण लिन पुगेकी छन् । राजनीतिक शरणार्थीका रूपमा उनलाई कुन राष्ट्रले अनुमति देला वा उनले कुन राष्ट्र छनोट गर्नेछिन् वा बंगलादेशको अन्तरिम सरकारले गर्ने आम चुनावसम्म भारतमै रहनेछिन् यकिन छैन ।
सन् १९९६ देखि २००१ सम्म ५ वर्ष र २००९ देखि २०२४ सम्म १५ वर्ष बंगलादेशमा शेख हसिनाको शासन चल्यो । खास गरेर शेख हसिनाको पछिल्लो शासनकाललाई आर्थिक क्रान्तिको सन्दर्भमा बंगलादेशको पुर्नजागरण मानिन्छ । यो हसिना युगमा बंगलादेशीले केही गुमाएनन्, आशा गरेभन्दा बढी पाए । सन् २००९ देखि २०१४ भित्रको अवधिमा सुरु भएको मेक इन बंगलादेश आज पनि बंगलादेशको अर्थतन्त्रको मेरुदण्ड हो । त्यसैले श्रीलङ्काका गोटाबाय राजपक्षे र बंगलादेशकी शेख हसिनाको नियती उस्तै देखिए पनि नियत उस्तै थिएन ।
जुन राष्ट्रका युवा सचेत र हस्तक्षेपकारी हुन्छन् त्यस राष्ट्रका शासक कि नागरिकको पक्षमा हुन्छन् कि शासनसत्ताभन्दा बाहिर हुन्छन् भन्ने सिद्ध गरिदिएका छन् । यस विद्यार्थी आन्दोलनको सन्देश र अर्थ नेपालमा कसले ग्रहण गर्ने ? नेपाली नेताले कि युवाले ? प्रष्ट छ, युवाले ।
यस विद्रोहको दीर्घकालीन परिणाम सकारात्मक होला भन्ने विषयमा गहिरो शङ्का छ । नियत एउटै नभए तापनि अहिलेलाई उस्तै नियती भोग्दै गरेकी शेख हसिना बंगलादेशको प्रधानमन्त्री मात्रै थिइनन् । उनी अवामी लिग पार्टीको नेता पनि थिइन्÷हुन् । बंगलादेशको अन्तरिम सरकारको नेतृत्वमा ८४ वर्षे मोहम्मद युनुस नियुक्त भएका छन् । उनको पछाडि बंगलादेशको सेना छ । उनको नियुक्तिका पछाडि बागी विद्यार्थीको सहमति छ । र यसको पछाडि उनले प्राप्त गरेको प्रसिद्धी छ । यसर्थ मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले शेख हसिनाको अवामी लिग पार्टीलाई आगामी चुनावमा प्रतिष्पर्धा गर्न बन्देज लगाउने सम्भावना बलियो छ । वा अवामी लिगका नेताहरुलाई तर्साएर चुनावी मैदानबाट भगाउने दाउपेच खेलिने सम्भावना पनि उत्तिकै बलियो छ ।
विद्यार्थी विद्रोही आगोमा जमात–ए–इस्लामी जस्ता कट्टरपन्थीहरूले घ्यु थपेका हुन् भन्ने कुरा निश्चित छ । शेख हसिनाले राजिनामा दिएर बंगलादेश छोडेपछि अवामी लिगका नेताहरूमाथि एवम् अल्पसङ्ख्यक हिन्दु, बौद्धहरूमाथि भएका अमानवीय घटनाहरू गम्भीर दृष्टान्त हुन् । अवामी लिगका कार्यकर्ता, मतदाता, शुभचिन्तकहरूको मौनता हस्तक्षेपमा बदलिन कुनै बेर लाग्दैन । र शेख हसिनाले भनेजस्तै यदि पश्चिमा मुलुकहरूको प्रभावमा यो विद्रोह भएको हो भने बंगलादेशको भविष्य सङ्कटग्रस्त छ ।
भारतमैत्री रहेकै कारण शेख हसिनालाई बंगलादेशको सेनाले देश छोड्न वाध्य बनाएको हुन सक्ने सम्भावना पनि चर्चामा छ । बंगलादेशी सेनाले प्रधानमन्त्री निवास पनि जोगाउन सकेन वा चाहेन भन्ने प्रश्नले यो कथ्यलाई सत्यतथ्य सिद्ध गर्दछ । यसकारण राजनीतिक विशेषज्ञहरूले यस विद्रोहलाई श्रीलङ्काको कपि भनेपनि यसलाई धेरै अर्थमा बर्माको नक्कल मान्न सकिन्छ । सेनासँग राजनीतिक मष्तिष्क हुँदैन । बंगलादेशमा १९७५ पछाडि धेरै पानी बगिसक्यो, बंगलादेशीको समग्र चेतना बदलिसकेको अवस्था छ । विश्लेषकहरू भन्छन्, यस्तो अवस्थामा पनि त्यहाँको सेनाले राजनीति गर्ने कोसिस गर्न सक्छ जुन हानिकारक हुनेछ । मोहम्मद युनुस वा बेगम खालिदा जिया वा बंगलादेश नेसनल पार्टीको कोही नेता वा अरू कसैको अनुहारलाई प्रधानमन्त्री राखेर असली शासन सेनाले गर्ने योजनाले बंगलादेशको अग्रगामी यात्रामा ब्रेक लाग्ने छ । बंगलादेशी सेना पश्चिमा देशहरूसँग बार्गेनिङ्गमा बिक्न थाल्यो भने बङ्गलाबन्धुहरुको अस्तित्व सङ्कटमा पुग्नेछ ।
अन्य विभिन्न मत मतान्तरहरू छन् जसले यस विद्रोहको सकारात्मक दीर्घकालीन परिणाममाथि गहिरो शङ्का व्यक्त गर्छन् । आरक्षणको विरुद्ध सुरु भएको बगावतसँग बेगम खालिदा जियालाई जेलमुक्त गर्ने, मोहम्मद युनुसलाई प्रधानमन्त्री नियुक्त गर्ने कुनै योजना÷माग थिएन । तर जिया जेलमुक्त भइन्, युनुस प्रधानमन्त्री भए । संसारका धेरै आन्दोलनहरू कुनै फेजमा पुगेपछि अनियन्त्रित हुन्छन् नै । त्यसैले यस आन्दोलनले पनि नियन्त्रण गुमाएको र आन्दोलनको मुल उद्धेश्यबाट विचलित भएको हुनसक्ने तर्कहरू छलफलमा छन् ।
बंगलादेशमा विद्यार्थीको बगावत र त्यसको परिणामको दृष्टान्त दिँदै नेपालमा पनि राजनीतिक नेताहरूको नियती गोटाबाय राजपक्षे वा शेख हसिनाको जस्तै हुन सक्ने कथन, समीक्षा वा टिप्पणी सामाजिक सञ्जालदेखि मुलधारका मिडियामा छरपस्ट देखिए । नेपालको हकमा यो विद्रोहको सन्देश नेपाली नेताहरूलाई होइन, यहाँका युवाहरूलाई हो– जुन राष्ट्रका युवा सचेत र हस्तक्षेपकारी हुन्छन् त्यस राष्ट्रका शासक कि नागरिकको पक्षमा हुन्छन् कि शासनसत्ताभन्दा बाहिर हुन्छन् । तर युवा देशमा छैनन् । जति छन् सचेतभन्दा बढी विचलित छन् । अन्याय, भ्रष्टाचारका विरुद्ध हस्तक्षेपभन्दा बढी हातेमालो गर्छन् ।