सुचना, समाचार र मनोरन्जन
Sarangi

भरियालाई फसाएर मालिक जोगाउने काम नहोस्

सम्पादकीय /

मुलुक लामो कालखण्डदेखि विभिन्न काण्ड र प्रकरणहरूमा जेलिँदै आएको छ । दण्डहिनताका कारण अपराधिक क्रियाकलाप गर्नेहरूको मनोबल बढिरहेको छ । राजनीतिक नेतृत्वले संरक्षणको छाता ओढाइरहेको छ । यो वा त्यो वहानामा आफ्ना र मतियारलाई कारवाही नहुनु सुशासनको प्रत्याभूति नहुनु हो । एउटा उच्चस्तरीय आयोग गठन गरी छानविन मार्फत् अपराधीलाई कारवाही गर्ने सवालमा संसद अवरुद्ध हुन्छ । सरकार सुन्नु पर्ने कुरा सुन्दैन, गर्नुपर्ने काम गर्दै र लोकलाई लाजको पसारो बनाइरहेको छ । भ्रष्टाचारको सवालमा कसैलाई नछोड्ने वाचा गरेको सरकार किन अग्नि परीक्षा दिन आनकान गरेको छ ? जसका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बदनाम भइरहेको छ ।

हालसम्म कै सर्वाधिक ठूलो परिणामको १ सय किलो सुन साउन ३ गते राजस्व छलेर बाहिरिदा बरामद भयो । बजारमा सुन काण्डले चासो सिर्जना गरिदियो । हङ्कङ्बाट क्याथे प्यासिफिक एयरलाइन्सको विमानमार्फत् आएको उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिर आएपछि राजस्व विभागले बुधबार फिल्मी शैलीमा बरामद गरेको हो । ‘बे्रक सु’ को आवारणमा रेडी ट्रेड प्रा.लि.का दिलिप भुजेजको नाममा आएको सुन चेकपास गरेर पठाउने कर्मचारीहरूलाई छानविन गरी ठेगान लगाउनुपर्छ । राज्यको राजस्व तस्करीको जालोमा फसेको छ । यस्ताचिजले पटकपटक राजस्वमा नोक्सान गरेको छ । १ किलो सुनमा १२ करोड राजस्व गुमेको हुन्छ ।

विमानस्थल र भन्सारको कडा सुरक्षा घेराबाट सुन बाहिरिनु चानचुने कुरा होइन । पञ्चायतकालमा पनि शक्ति र सत्ताका आडमा सुन काण्डका घटना सतहमा आएका थिए । सुनको शौचालयमा शौचक्रिया गर्ने शासकहरूलाई आज समयले पत्तासाफ गरिसकेको छ । कुनै बेलाका कुख्यात फ्रेन्च नागरिक चाल्स शोभराजको किस्सा ‘विमानस्थलबाट हात्ती छिराइदिन्छु ’ भन्ने उक्ति आज सावित भइरहेको छ । यतिधेरै परिमाणको सुनमा भन्सार चेकजाँच सकेर कसरी पास भयो ? ट्याक्सीबाट सिनामङ्मल कसरी पुग्यो ? यो आश्चर्यको विषय हो । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले सुझबुझ नअप्नाएको भए र एक निमेष मात्रै ढिलो भएको भए तस्करहरू मालामाल हुने थिए ।

विमानस्थलभित्रै सातादिनसम्म रहेको क्विन्टल सुन किन समातिएन ? अख्तियारी लिएर बसेका कर्मचारीले कसको इसारा पर्खेर बसेका थिए ? सुनकाण्ड सतहमा आएपछि कसरी ढाकछोप गर्ने भन्ने प्रपञ्चमा किन नेतृत्व लागेको छ ? यस्ता गहन र गम्भीर सवालको जवाफ नागरिकले पाउनुपर्छ । नेपालमा केही दशकदेखि सुन तस्करीको ग्राफ बढको छ । सुनकै कारणले भरिया र विचौलियाको हत्या तस्करहरूले गर्छन् । अवैध र तस्करी गरेर नेपाल भित्रिएको सुन भारतसँगको खुला सिमानाबाट खुलेआम भारतीय सुन बजारमा पुग्छ । सुन ल्याउने वैधानिक अधिकार केवल बैङ्कहरूलाई मात्रै छ । दैनिक २२ किलो सुनको मात्रै कोटा निर्धारण गरिएको छ । विगत एक दशकमा ६ सय ६० किलो सुन बरामद भएको छ भने ७०६ जना सुन तस्कर समातिएका छन् । चरम गरिबीका कारण नागरिकले नुन पाउन समेत सास्ती छ, मुलुकलाई २३ खर्बको ऋण बोकाउने शासकहरूले सुन तस्करसँग कहिलेसम्म साँठगाँठ गर्ने ? राजस्व छली, चुहावट र अपचलन अविलम्ब रोक्नुपर्छ ।

प्रहरीले आफ्नो उपस्थिति नरहेको जनाइरहँदा भन्सारका कर्मचारीको बदमासी र सेटिङ स्पष्ट देखिन्छ । कडा अनुसन्धान गरेर सुन काण्डका मतियार, विचौलिया, दलाल, गिरोह र तस्करलाई कडा कारवाही गरेर नेपालको छविलाई सुधार्न सरकारले आनाकानी गर्नै हुँदैन् । सत्ता गठबन्धनमा दरार आउला र सरकार ढल्ला कि भनेर चिन्ता लिनु यतिबेला मनासिव हुँदैन् । भ्रष्टाचार गरेको कालो धन, कर छली गरेको अकुल सम्पत्ति, आतङ्ककारी गिरोहको हातेमालोमा आर्जन गरेको धनलाई पहेँलो धातु सुनबाट सेतो बनाउने धन्दामा राजनीतिक दलका उच्च पदस्थ नेता, प्रशासक र नातागोताको मिलेमतो प्रष्ट देखिन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले राजस्वबाटै तलबभत्ता र सुविधा लिन्छन् । तर काम सरकारको होइन तस्करको गर्छन भन्ने पुष्टि भइसकेको छ । दिनहुँ सुन आउँछ, चेकजाँच हुन्छ र माथिको आदेशमा भन्सार पास हुन्छ । विमानस्थल केवल ट्रान्जिट मात्रै होइन, संवेदनशील ठाउँ हो । अध्यागमन, राजस्व अनुसन्धान, भन्सार, राष्ट्रिय अनुसन्धान, प्रहरी प्रशासन, सुरक्षाकर्मी, चेकजाँचका लागि २४ घण्टा खटिरहेका हुन्छन् । यी सबैलाई सरकारले अनुगमन गर्नुपर्ने हो तर तस्करले यी सबैलाई आफ्नो पञ्जामा लिएको छ । सुन आउँदै छ भन्ने सूचना नभएको होइन तर भन्सारले सेटिङकै कारण चेकजाँच गरेर बाहिर निकालिदियो । सर्वसाधरणले २ तोला सुन ल्याउँदा आँखा गाड्ने कर्मचारीले सय किलो सुन बाहिरिदा किन आँखा देखेनन् ? सुन सेटिङको जवाफहेही को हो ? नवधनाढ्यहरूको आर्थिक सफलताको साइनो सुनसँग छ । नेतृत्वले घुसका रूपमा सुनकै विस्कुट खाएका छन् । तस्करहरूलाई नेतृत्वले सुरक्षाको छाता र सुनपानी छर्किदिएकै भरमा चोखिन संस्कारले तस्करी झन्झन् मौलाएको हो । कर्मचारीलाई प्रेरित गर्ने नेतृत्वलाईलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ ।

पञ्चायतकालदेखि दर्जनौँ सुन काण्ड आए तर शक्ति र पहुँचका भरमा सामसुम भए । भन्सार कार्यालयमा सुन र लागु औषध पहिचान गर्ने मेसिन पटकपटक किन बिग्रिरहन्छ ? यसको मर्मत गर्न किन सरकार लाग्दैन ? तस्करको इसारामा किन चल्छ ? यसघडी भन्सार विभाग फेल हुँदा राजस्व अनुसन्धान विभागको सचेत पहलका कारण १ अर्ब बराबरको क्विन्टल सुन समातिएको हो । तस्करले मुलुकको अर्थतन्त्रलाई धरापमा पार्ने मात्रै होइनन्, नेपाललाई आपराधिक गतिविधिको चलखेल बनाउने थलोको रूपमा विकसित गराउने हुँदा तस्कर नियन्त्रणका लागि उच्चस्तरीय आयोग बनाएर प्रभावकारी कार्यान्वयन गर्न वाञ्छनीय देखिन्छ । सुरक्षा संयन्त्र, प्रशासनिक चक्र र नेतृत्वको आडभरोसाबिना चानचुने तस्करले यो परिमाणको हर्कत गर्न सक्दैनन् । सरकारले गृहकार्य गरेर चर्को र खरो परीक्षा दिन आवश्यक छ । यो सुन काण्डले सरकारलाई सुशासनको प्रत्याभूति दिलाउन, सूक्ष्म अनुसन्धान गर्न र सशक्त कारवाही गर्न सुनौलो समय पनि दिएको छ ।

नागरिकका गहकिला प्रश्नलाई दरी मुनि दापेर राख्न सरकारलाई सुहाउँदैन् । प्रहरी प्रशासनलाई वाइपास गरेर प्रधानमन्त्री कार्यालयको मातहतमा रहेको राजस्व अनुसन्धान विभागले मात्रै अनुसन्धान गरेर टुङ्गोमा पुग्दैन भन्ने सत्यलाई आत्मबोध गर्न आवश्यक छ । सङ्गठित र अन्तरदेशीय अपराधलाई अनुसन्धान गर्न प्रहरीको आवश्यकता जरुर हुन्छ । विगतमा झैं भरियालाई कारवाही गर्ने र मालिकलाई उन्मुक्ति दिने परिपाटीको अन्त्य हुनुपर्छ । कानुनी राज्य र विधिको शासनको अनुभूति दिन पनि संगठित अपराधको पर्दाफास गर्न सरकारले जुनसुकै कदम चाल्न आँट र हिम्मत गर्नुपर्छ । उच्चस्तरीय आयोग पनि आयो र गयोमा सीमित भयो भने कानुनी राजको धज्जी उड्ने छ । अनुन्धानमा राष्ट्रहितमा अडिग दक्ष, इमानदार र निष्पक्ष विज्ञको आवश्यकता छ ।

Leave A Reply

Your email address will not be published.